राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा हुँदैछ।
भरतपुरको गेस्ट हाउस चउरमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन हुनेछ।
महाधिवेशनका लागि रास्वपा सभापति रवि लामिछाने लगायत पदाधिकारी र प्रतिनिधिहरू केही दिन देखि नै चितवनमा छन्।
पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाह आइतबार नै भरतपुर पुगेका छन्।
पहिलो महाधिवेशनको उद्घाटन समारोहमा रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई निम्ता गरेको थियो। सहभागी हुने नेताहरूले शुभकामना मन्तव्य राख्नेछन्।
रास्वपा महाधिवेशनमा पूर्वप्रधानमन्त्रीहरूमध्ये बाबुराम भट्टराई सहभागी हुने भएका छन्।
नेपाली कांग्रेसबाट सभापति गगन थापा नै जाने भएका छन्।
सभापति थापा सहभागी हुने टुंगो कांग्रेसले आइतबार मात्रै लगाएको हो। उनी मध्याह्न १२:४५ बजे भरतपुर विमानस्थल अवतरण गर्नेछन्।
नेकपा एमालेले पदाधिकारी तहका नेता पनि नपठाउने भएको छ। उक्त दलबाट नेता प्रदीप ज्ञवाली रास्वपा महाधिवेशनमा सहभागी हुने तय भएको छ। ज्ञवाली अहिले केन्द्रीय सदस्य मात्रै छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट पनि शीर्ष तहका नेताको सहभागिता नहुने भएको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' जाने तयारी गरेको भए पनि स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्।
नेकपाबाट नेता वर्षमान पुन रास्वपा महाधिवेशनमा सहभागी हुनेछन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन्। उनी प्रधानमन्त्री बालेनसँगै एउटै फ्लाइटमा चितवन पुगेका छन्।
श्रम संस्कृति पार्टीबाट भने प्रतिनिधि समेत सहभागी नहुने भएको छ।
श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपा आफ्नो धारणा प्रष्ट नपारेकाले महाधिवेशनमा सहभागी नहुने बताएका थिए।
यसरी दिउँसो १ बजेदेखि सुरू हुने महाधिवेशन उद्घाटन समारोहमा बालेन, रवि र गगन एकै मञ्चमा देखिने भएका हुन्।