राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा 'बालेनले राजा ल्याउँछ' भनेर जनताले भोट दिएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सुरू भएको पहिलो अधिवेशन उद्घाटन समारोहमा लिङ्देनले जनताको चाहना सम्बोधन गर्न सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरे।
'प्रधानमन्त्रीजीलाई थाहा छ, सभापतिलाई थाहा छ, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरुको भोट पनि छ', लिङ्देनले भने, 'नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा र तर राप्रपालाई नदिएर 'बालेनले राजा ल्याउँछ' भनेर तपाईंलाई भोट दिएका छन्। सकारण तपाईंहरुको विशिष्ट जिम्मेवारी छ। तपाईंहरुले जनताको यो विशिष्ट चाहानालाई सम्बोधन गर्नुपर्नेछ।'
उनले हिजोको राजनीतिक नेताहरुमा समस्या भएकाले जनताले निर्वाचनबाट बढारेको बताए। तर अहिलेको संविधान र व्यवस्थामा पनि समस्या भएकाले संविधान संशोधन गर्नुपर्ने लिङदेनले तर्क गरे।
'समस्या संविधान र संवैधानक व्यवस्थामा पनि छ। संविधानमा सुधार नगरी, राष्ट्रिय सहमति नगरी देशले लिक पक्डिदैँन', लिङ्देनले भने, 'ऐतिहासिक जिम्मेवारी र अवसर प्राप्त गर्नुभएको छ। यो अवसरको सदुपयोग होस्।'
उनले रास्वपालाई निषेधको राजनीति नगर्न पनि सुझाव दिए।
'हिजो अरुले निषेध गरे, ठिक लगाए भनेर हामी पनि ठिक लगाएर जानुपर्छ भन्ने बाटोमा गयो भने दुर्दशा भोग्नुपर्छ', लिङदेनले भने, 'जनताले निराश भोग्नुपर्छ।'
लिङदेनले रास्वपा र राप्रपा फरक फरक कित्तामा रहेर एउटै कुरा गर्ने पार्टी भएको दाबी पनि गरे।
'देशमा २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र भनेपनि केही समिति राजनीतिक दल र समिति नेताहरुले देशमा लुटतन्त्र मच्चाइरहेका छन् र त्यसबाट देशलाई निकास दिन आवश्यक छ भनेका थियौँ', लिङ्देनले भने, 'फागुन २१ गतेको निर्वाचन मार्फत् परिवर्तनको चाहाना संस्थागत गर्ने जिम्मेवारी आएको छ। इतिहासले तपाईंहरुलाई अवसर दिएको छ।'
रास्वपाको पहिलो महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ।