नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमै असाधारण जनमत प्राप्त गरेको बताएका छन्।
आज चितवनको हेस्ट हाउस चौरमा रास्वपा प्रथम महाधिवेशनमा बोल्दै उनले भने, ‘नेपालको राजनीतिमा रास्वपाले प्राप्त गरेको यो जनमत असाधारण छ। इतिहासमा तीन-चार पटक यस्तै खालको जनमत दलहरूले प्राप्त गरे तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो, आफूलाई सम्हाल्न सकेनन्।’
रास्वपाले अहिले प्राप्त गरेको सफलता स्थिरताका निम्ति सही ढंगले अघि बढ्नुपर्ने उनले बताए।
उनले कांग्रेस रास्वपाको प्रतिस्पर्धी भएको पनि बताए। ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौं, तपाईंहरूको अग्लाई देखेर लोभ लागेको छ तर हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं, बन्छौं पनि एकदिन। तर तपाईंहरूलाई सानो बनाएर होइन। खुट्टा काटेर होइन। मन, वचन र कर्मले काम गरेर ठूलो हुन चाहन्छौं। आफ्नो पार्टीभित्रको फोहोर हटाएर सफा हुन चाहन्छौं,’ उनले भने।
उनले विधिका पक्षमा प्रतिपक्षी दलले प्रश्न उठाउने पनि बताए। ‘प्रतिनिधि सभामा अवरोध गरेको दिन राष्ट्रिय सभामा ताली बजाएका थियौं,’ उनले भने।
पूरा भिडिओ: