प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई आवश्यक परेमा पाँचै वर्ष पनि सोधपुछ र सरसल्लाह लिने बताएका छन्।
आइतबार प्रधानमन्त्री शाहले रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै पछिल्लो समय अख्तियारलाई सोधपुछ गरिएको विषयमा ५ वर्ष नै राखेर सोधपुछ र सरसल्लाह लिने बताएका हुन्।
‘...त्यो निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्न पर्छ, सरसल्लाह लिन पर्छ भने ५ घण्टा मात्रै होइन, हामी ५ वर्ष गर्छौं। ५ वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्न पर्दैन,’ उनले भने।
उनले सरकारको सम्पत्ति दोहन भएको घटनाहरूमा निहुँ खोजिने बताए।
‘हाम्रो पार्टीले निहुँ खोज्नै परे कस्तो केशमा भने विगतमा फटाइँ भएको छ भने। सरकार सम्पत्तिको दोहन, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्छौं,’ उनले भने।
यस कामका लागि सामाजिक सञ्जालमा सरकार अनियन्त्रित देखिएको भए पनि नियम कानुन नमिचिने बताएका हुन्।
‘नियम कानुनमा बसेरकै काम गर्छौं। नियम भन्दा बाहिर जाँदैनौं। हाउभाउ हेर्दा ,सोसल मिडिया, मिडिया हेर्दा अलिकति अनियन्त्रित देखिएला। त्यो देखिएको मात्रै हो। सबै चिज नियन्त्रित नै छ। कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन,’ उनले भने।
त्यस्तै सरकार अहिले एक्सिप्रेसवेमा गति लिइरहेको गाडी भएको पनि उनले बताए। यो गाडी अब गन्तव्यमा पुगेर मात्रै रोकिने बताएका हुन्।