राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापाले करिब १२ मिनेट बोले।
उनले रास्वपाले छोटो समयमा असाधारण उपलब्धि गरेको बताए।
‘रास्वपाको यो सफलता लोभलाग्दो छ, सफलताका लागि रास्वपालाई बधाई छ,’ उनले आज चितवनको हेस्ट हाउस चौरमा आयोजित रास्वपा महाधिवेशन उद्घाटन सत्रमा बोल्दै भने।
उनले रास्वपा सभापतिमा पुन: रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह चयन हुन लागेकोमा बधाई पनि दिएका थिए।
उनले रास्वपामा विगतमा विभिन्न दलहरूमा देखिएकोजस्तो विवाद उत्पन्न नहोस् भन्ने पनि आग्रह गरेका थिए।
उनले कांग्रेस रास्वपाको प्रतिस्पर्धी भएको र दुस्मन नभएको पनि बताए। आफ्नो घरभित्रको फोहोर सफा गरेर कांग्रेस रास्वपाभन्दा अग्लो हुन चाहेको उनको भनाइ छ।
उनले रास्वपा सरकारले विधिअनुसार काम गर्दा सहयोग रहने र विधि मिच्ने काम हुँदा प्रतिपक्षी दलको धर्म निर्वाह हुने पनि बताए।
उनले विगतमा कांग्रेसले गरेका गल्तीहरूप्रति शिर निहुर्याउने बताए। गल्तीहरू सच्याउँदै जाने उनको भनाइ छ। आफूहरूले पार्टीभित्र विद्रोह गरेको पनि उनले बताए।
उनले रास्वपा नेता तथा कार्यकर्ताहरूलाई प्रश्न गर्न पनि आग्रह गरेका थिए।
‘पार्टी भित्रको गलत कार्यको विरोध गर्न नसक्नेले सुशासन ल्याउन सकिँदैन । तपाईंहरूले सुशासनका लागि सफलता प्राप्त गर्नै पर्छ।
हामीले आफ्नै नेताहरूलाई पनि गल्ती गर्दा प्रश्न उठाउनु पर्छ, हामीले दाइ र बा बनाएर गल्ती गरियो, आफ्नै नेतालाई पनि प्रश्न गर्नु पर्दछ। नत्र सुशासन आउँदैन,’ उनले भने।
कार्यक्रम भइरहेको गेस्ट हाउस चौरमा २०१८ सालमा ५० जनाको हत्या भएको र शव गाडिएको उनको भनाइ थियो।
‘अहिले तपाईंहरू उभिएकै ठाउँमा, चितवनको यही भूमिमा २०१८ सालमा जय नेपाल भनेकै कारणले र लोकतन्त्र मागेकै कारणले ५० जनाको लास गाडिएको थियो। आज तपाईंहरूको निलो झन्डा फहराउन पाएको पनि उनीहरूकै कारणले हो। त्यसलाई नभुल्नु होला।
निलो झण्डा फहराउँदै गर्दा भुइँमा रातो पनि छ भन्ने सम्झनु पर्दछ। त्यो पुराना आन्दोलनका बलिदान र सहिदलाई बिर्सन मिल्दैन, विगतका योगदानलाई भुल्नु हुँदैन,’ उनले भने।
भिडिओ-