राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनमा सम्बोधन गरेका छन्।
चितवनको गेस्ट हाउस चउरमा आइतबारदेखि सुरू भएको प्रथम महाधिवेशनमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले ५ वर्षका लागि सरकार चलाउने बताए।
उनले झुक्किएर आफ्नो खुट्टामा बल आए पनि आफूले त्यसलाई शाहकै खुट्टामा पास गर्ने बताएका छन्।
'सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्याएको छ। अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको,' लामिछानेले भने, 'झुक्किएर बल आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।'
लामिछानले बल पास गर्ने बताएपछि प्रधानमन्त्री बालेन्द्र शाह खुलेर हाँसेका थिए। त्यस्तै रास्वपाका कार्यकर्ताहरुले उठेर सम्मान प्रकट गरेका थिए।
लामिछानले थपे, 'यहाँ मुख मिठ्याउने धेरै छन्। चुकुली लगाउने पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन। म त इतिहासलाई जवाफ दिन खडा भएको छु। आज जन्मेकाहरुले मात्र होइन, भोलि जन्मनेहरूले पनि मलाई र बालेनलाई प्रश्न गर्नेछन्। यो मौका किन गुमाउन दियौं। हामी त्यो प्रश्न भाँच्न चाहन्छौं। यो अवसरलाई सदुपयोग गर्न चाहन्छौं।'
त्यसैगरी उनले कांग्रेस र एमालेलाई पार्टी भित्रका अफ्ठ्याराहरूलाई सुल्झाउन पनि सुझाव दिएका छन्।
'राष्ट्रिय राजनीतिमा रहेका दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेका अफ्ठ्यारा छन्। त्यो दलको अफ्ठ्यारा सुल्झिएन भने देशको अफ्ठ्यारा बन्न सक्छ', लामिछानले भने, 'आफ्नो दल भित्रको अफ्ठ्यारा मिलाउनुहोला। अन्य दलका अफ्ठ्यारा सुल्झिए भने देश राम्रो बाटो जानेछ।'
लामिछानले यसअघि दलहरू प्रतिस्पर्धी बनेको उल्लेख गर्द आफ्नो पार्टीलाई प्रतिस्पर्धा गर्ने छुट नभएको बताए। उनले रास्वपालाई लडाउने अर्को शक्ति अबको युगमा आउन नसक्ने दाबी गरे ।
'यसअघि दलहरु प्रतिस्पर्धी बने। हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन। व्यक्तिगत वैमनस्यता बोकेर बाँच्ने होइन', लामिछानले भने, 'त्यो सकिनुपर्छ। ठूलो हृदय बोकेर अघि बढ्ने हो।'
पूरा भिडिओ: