प्रधानमन्त्री बालेन शाहले पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दा विशेषगरी पाँच कुरा भने।
संक्षिप्त सम्बोधन गरेका प्रधानमन्त्री बालेनले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरणसँगै सरकारबारे भएका आलोचनाको खण्डन गर्ने प्रयत्न गरे।
उनले थोरै कुरा पार्टीको महाधिवेशन, त्यसले चुन्ने नेतृत्व र सिंगो समितिबारे पनि बोले।
प्रधानमन्त्री बालेनले सम्बोधनको सुरूवात अन्य दलले आफू नेतृत्वको सरकारलाई लिएर गरेको चिन्ताबारे जबाफ दिएर गरे।
एमाले नेता प्रदीप ज्ञवालीले उनीभन्दा अगाडि सम्बोधन गर्ने क्रममा सरकारको गाडीले एक्सिलेटर थिच्ने मात्रै नभई कहिले काहीँ ब्रेक लगाउनुपर्ने बताएका थिए।
प्रधानमन्त्री बालेनको जबाफ त्यतै इंगित थियो। सरकार लोकल सडकमा हिँडेको गाडी नरहेको बताए।
'त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरुमा हिँडेको गाडी भयो भने लिनुपर्छ। कहिले घुम्तिमा गाडी आउँछ कहिले दायाँ बायाँबाट आउँछ। हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन। एक्सप्रेस-वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लगाउन जरूरी हुँदैन। हाम्रो गाडी अनियन्त्रित पनि छैन। वातावरण पनि मिलेर गएको छ,' उनले भने।
अघिल्ला वक्ताहरूले जनमत पनि हावाजस्तै कहिले पूर्व र कहिले पश्चिमबाट चल्न सक्ने चेतावनी पनि सरकार र रास्वपालाई दिएका थिए।
प्रधानमन्त्री बालेनले रास्वपाले सानो हावा ल्याएर जनमत परिवर्तन गरेको नभई बाढी ल्याएर खोला नै फर्काएको जबाफ दिए।
'जनताको भोट भनेको हावाजस्तो हुन्छ। कहिले यताबाट बग्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले बाढी ल्याएर खोला फर्काएका हौं। खोला एक पटक आफ्नो सहि बाटोमा फर्किएपछि निरन्तर त्यही बाटोमा बगिरहन्छ। हावाजस्तो पूर्व-पश्चिम बग्दैन। चिन्ता लिनुपर्दैन,' उनले भने।
प्रधानमन्त्री बालेन आफ्नो अभिव्यक्तिमा प्रष्टोक्ति दिँएर दोस्रो विषयमा प्रवेश गरे।
जेठ १७ गते संसदको रोस्ट्रमबाट उनको 'नेपालले पनि भारतको जमिन मिचेको रहेछ' भन्ने अभिव्यक्तिले अन्तर्राष्ट्रिय रूपमै चर्चा पाएको थियो। देशभित्र चर्को आलोचित पनि भए।
भारतसँगको सीमाना विवाद समाधान गर्न ब्रिटिश मध्यस्थताको विषय उठान गरे।
त्यसमा प्रधानमन्त्री बालेनले चितवनबाट प्रष्टोक्ति दिए।
'हामी हाम्रो छिमेकीसँग आफै कुरा गरेर मिलाउँछौं। हामीसँग प्रमाण छ। हामी ल्याउँछौं। त्यो कुरा ल्याउँछौं। यसमा आशंका मान्नुपर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्दैन। कसैले मान्नुपर्दैन,' उनले भने।
भारतसँग सीमा विवादको समाधानका लागि सरकारले बेलायतको मध्यस्थता नखोजेको पनि उनले बताए।
'ब्रिटिशले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं। ब्रिटिशलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौं,' उनले भने।
प्रधानमन्त्री बालेनले विधि र प्रक्रियाबारे उठेका प्रश्नको जबाफ दिँदै तेस्रो विषय प्रारम्भ गरे।
केही दिनअघि मात्रै प्रधानमन्त्री बालेनको सचिवालयमा रहेका व्यक्तिहरूले अख्तियारको सिंगो टोलीलाई ९ घन्टा थुनेर जबरजस्ती राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालविरूद्ध पक्राउ पुर्जी जारी गर्न दबाब दिएको समाचार सार्वजनिक भएको थियो।
प्रधानमन्त्री बालेनले यसमा जबाफ दिँदा अख्तियारका टोलीलाई ५ घन्टा राखिएको स्वीकार गरे। आवश्यक परे पाँचै वर्ष राखेर सोध्ने छलफल गर्ने पनि भने।
'हाम्रो पार्टीले विगतमा फट्याइँ भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्छौं,' उनले भने, ' त्यो निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्न पर्छ, सरसल्लाह लिन पर्छ भने ५ घण्टा मात्रै होइन, हामी ५ वर्ष गर्छौं। ५ वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्न पर्दैन।
उनले बाहिरबाट हेर्दा सरकार अनियन्त्रित देखिए पनि विधिको नियन्त्रणमै रहेर काम गरिएको बताए।
'हाउभाउ हेर्दा ,सोसल मिडिया, मिडिया हेर्दा अलिकति अनियन्त्रित देखिएला। त्यो देखिएको मात्रै हो। सबै चिज नियन्त्रित नै छ। कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन,’ उनले भने।
त्यसपछि प्रधानमन्त्री बालेनले रास्वपा र पहिलो महाधिवेशनको विषय उठान गरे। पार्टी र महाधिवेशनबारे दुइटा कुरा गरे।
पहिलो, सम्भावित गुटबारे।
रास्वपामा केन्द्रीय सदस्यहरू मतदानमार्फत चयन हुने निश्चित छ।
प्रधानमन्त्री बालेनले मतदान हुँदा गुट नबनाउन प्रतिनिधिहरूलाई सचेत गराए।
'राम्रो नेता बन्न, राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था, माया जित्नुपर्छ। कुनै एउटा समूहको मायाले हुँदैन। त्यसैले समूह बनाउने पछाडि नलाग्नुहोला। त्यस्तो बीऊ अहिले नरोप्नु कि भोलि बिचबाट फाँड्नुपरोस्,' उनले भने।
पुराना दलबाट पनि यो सिक्नुपर्ने उनले बताए।
चुनाव भयो र त्यसमा पराजित हुँदा पनि हतास नहुन प्रधानमन्त्री बालेनले आग्रह गरे।
'चिन्ता लिनुपर्दैन। यो गठनबन्धको सरकार होइन। एकल पार्टीको सरकार हो। एकल पार्टीको सरकार हुँदा हेरक मन्त्री प्रधानमन्त्री, हरेक सांसद, हरेक पदाधिकारी,हरेक केन्द्रीय सदस्य र हरेक समर्थक प्रधानमन्त्री हो। म पदाधिकारी भएको भए यस्तो गर्थे भन्नुहुन्छ भने त्यो योजना ल्याउनुस् हामी गर्छौं,' उनले भने।
दोस्रो विषय पार्टीको भविष्य र आगामी निर्वाचनबारे थियो।
उनले रास्वपा सँधै एउटै मुद्दा बोकेर नहिँड्ने बताए। निर्वाचनअघि उठाएका विषय यही कार्यकालमा सम्पन्न गर्ने र अर्को निर्वाचनमा अर्कै मुद्दा लिएर जनताकहाँ जाने उनको भनाइ थियो।
'यही कार्याकालमा सहकारी समस्या समाधान गर्छौं। यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौं। अर्को चुनावमा यही एजेन्डा बोकेर जाँदैनौं। नयाँ बोकेर जाने हो,' उनले भने।