राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र सुरू हुँदैछ।
आइतबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिनको कार्यक्रम चितवन प्रदर्शनी केन्द्रमा बिहान साढे ८ बजेदेखि सुरू हुनेछ।
बन्द सत्रका कार्यक्रम सभापति रवि लामिछानेले सञ्चालन गर्नेछन्।
बन्द सत्रमा चारवटा प्रतिवेदन पेश हुने कार्यतालिका छ।
सुरूमा केन्द्रीय अनुशासन विभागबाट रमाकान्त रिमालेले प्रतिवेदन प्रस्तुत गर्नेछन्।
बिहान ९ देखि साढे ९ बजेभित्र आर्थिक प्रतिवेदन पेस हुनेछ। प्रतिवेदन पार्टी केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीले पेश गर्नेछिन्।
साढे ९ बजेदेखि आधा घन्टा चिया ब्रेक राखिएको छ।
त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसमा बिहान १०:४५ बजेसम्म छलफल हुने भनिएको छ।
त्यसपछि विधानमाथि छलफल गरी पास गर्ने कार्यतालिका छ। त्यसका लागि १०:४५ देखि ११:४५ सम्मको समय तोकिएको छ।
पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। त्यसमा छलफलका लागि ११:४५ देखि १२:४५ सम्मको समय तोकिएको छ।
त्यसपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गरी आयोजक समितिले सम्पूर्ण जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई दिने कार्यतालिका छ।