राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन पूर्वअध्यक्षहरूले विज्ञप्ती जारी गरी केन्द्रीय समिति बैठकमा अनुपस्थित हुनुको कारण खुलाएका छन्।
पार्टीका तीन पूर्वअध्यक्षहरू पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सोमबार विज्ञप्ती जारी गरी असार ५ र ६ गते भएको केन्द्रीय समिति बैठकमा अनुपस्थित रहनुको कारण खुलाएका हुन्।
'पार्टीभित्र लामो समयदेखि देखिँदै आएका बेथिति, सङ्कुचित सोच र व्यवहार, विधि-विधान तथा स्थापित परम्पराविपरीत गरिएका गतिविधि, साथै जथाभावी र पक्षपातपूर्ण ढंगले गरिने कारबाहीमा सुधार ल्याउन हामीले निरन्तर प्रयास गर्दै आएका थियौं,' विज्ञप्तिमा भनिएको छ, “तर त्यो प्रयास अपेक्षित रूपमा सफल हुन नसकेपछि हामी बैठकमा अनुपस्थित भएका हौं।'
पूर्वअध्यक्षहरूले राप्रपा अहिले वैचारिक, सङ्गठनात्मक तथा रणनीतिक दृष्टिले महत्वपूर्ण र चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै पार्टीको भविष्यप्रति आफूहरू आशावादी रहेको बताएका छन्।
'नेपालको विशिष्ट भूराजनीतिक अवस्था, धार्मिक–सांस्कृतिक पहिचान, ऐतिहासिक विरासत तथा सामाजिक यथार्थका कारण राप्रपा भविष्यमा देशको प्रमुख वैकल्पिक शक्ति मात्र नभई राष्ट्रिय नेतृत्वदायी शक्तिका रूपमा स्थापित हुनसक्ने पर्याप्त आधार रहेकोमा हामी विश्वस्त छौँ,' विज्ञप्तिमा भनिएको छ।
उनीहरूले पार्टीभित्र देखिएका विकृति र अविश्वास अन्त्य गर्न स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। अनुशासनका नाममा पूर्वाग्रह र प्रतिशोधपूर्ण कारबाही स्वीकार्य नहुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'अनुशासनका नाममा पूर्वाग्रह, प्रतिशोध वा व्यक्तिगत आग्रहका आधारमा कसैलाई कारबाही गरिनु हुँदैन।'
केन्द्रीय कार्यसमितिको बैठकमा कार्यसमिति बाहिरका व्यक्तिहरूलाई सहभागी गराउने अभ्यासमाथि पनि उनीहरूले प्रश्न उठाएका छन्। साथै महाधिवेशन समयमै नहुने वा निष्पक्ष नहुने आशंकाका कारण केही नेता–कार्यकर्ताले पार्टी परित्याग गरिसकेको दाबी गरेका छन्।
यसको समाधानका लागि अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत सहभागी रहने उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्न सुझाव दिएका छन्।
'यस्ता रचनात्मक सुझावहरूलाई आत्मसात् गर्नुको सट्टा पार्टी निर्माण र सुदृढीकरणका लागि जीवनको महत्वपूर्ण समय, रगत र पसिना समर्पित गरेका पूर्वअध्यक्षहरूमाथि नै लक्षित गरी लाञ्छना र आरोप लगाउने प्रवृत्ति अत्यन्त दुःखद र अस्वीकार्य छ,' उनले भने।
विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको बैठकले २०८३ मङ्सिर २६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेकोमा स्वागत गरिएको छ।
'महाधिवेशनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र परिणाममुखी बनाउन विगतमा प्रस्तुत गरिएका सुझावहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गरिनुपर्छ,' उनीहरूले भनेका छन्।
पूर्वअध्यक्षहरूले आफ्नो कुनै व्यक्तिगत स्वार्थ वा गुटगत स्वार्थ नरहेको स्पष्ट पारेका छन्।
'हाम्रो एक मात्र चाहना र चिन्ता भनेको हाम्रो जीवनकालमै पार्टी कमजोर वा पतन भएको देख्न नपरोस् भन्ने हो,' उनीहरूले भनेका छन्।
उनीहरूले पार्टी छाडेर गएका नेता–कार्यकर्तालाई पुनः फर्किन र निराश कार्यकर्ताहरूलाई महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्।
साथै आगामी महाधिवेशनले हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र को आधारमा सुशासन, राजनीतिक स्थिरता, राष्ट्रिय एकता र आर्थिक समृद्धिको स्पष्ट वैचारिक मार्गदर्शन दिनुपर्ने बताएका छन्।
'यही मार्गबाट मात्रै राप्रपाले जनविश्वास पुनः प्राप्त गर्दै राष्ट्रिय राजनीतिको केन्द्रमा आफ्नो भूमिका स्थापित गर्न सक्नेछ,' संयुक्त विज्ञप्तिमा उल्लेख छ।

