लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत दसौं बैठकमा आर्थिक वर्ष २०८३ / ०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको छ।
कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३ /०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस भन्ने प्रस्ताव सभामा पेश गर्ने छन्। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिने छन्।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले‘ आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेश गर्ने कार्यसूची रहेको छ।
असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३ /०८४ लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख बजेट विनियोजन थियो। जसमा चालुतर्फ ११ अर्ब ११ करोड, २७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैंयाँ बजेट विनियोजन गरिएको थियो।