अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा वार्ता भएको छ।
इरानको आणविक कार्यक्रम र दुई देशबीच सहमति हुन बाँकी बुँदाहरूमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलबीच १८ घन्टाभन्दा लामो वार्ता भएको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।
लेक लुसर्नमा दुवै पक्षले अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित वार्ताको रोडम्यापमा सहमति भएको पनि एक्सियसले लेखेको छ।
वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नर सहभागी थिए। इरानबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराग्चीसहितको प्रतिनिधिमण्डल सहभागी थिए।
वार्ताअघि इसराइलले लेबननमा हमला गरेपछि इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले स्ट्रेट अफ हर्मुज बन्द गर्ने चेतावनी दिएको थियो। त्यसले वार्ता नहुने हो कि भन्ने संशय पैदा गरेको थियो।
तैपनि वार्ता जारी रहेको र सकारात्मक रहेको भनेर दुवै देशका प्रतिनिधिहरूले बताएका छन्।
यद्यपि इरानी पक्षले पत्रकारहरूसामु विरोधस्वरूप वार्ताबाट बाहिरिएको बताए पनि वास्तविक रूपमा वार्ता दिनभर जारी रहेको एक अमेरिकी कूटनीतिज्ञले बताएका छन्।
वार्ताका क्रममा लेबनानमा युद्धविराम कार्यान्वयन, दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाहबीच जारी झडप तथा ‘डि–कन्फ्लिक्सन मेकानिज्म’ सम्बन्धी विषयमा पनि छलफल भएको थियो।
मध्यस्थकर्ता मुलुकका एक स्रोतले लेबनानसम्बन्धी छलफल 'तनावपूर्ण' बनेको भनेर एक्सियसलाई बताएका छन्।
ती कूटनीतिज्ञका अनुसार वार्तामा आणविक सम्झौताका सबै पक्षबारे छलफल गरिएको थियो। होर्मुज जलडमार्ग बन्द गर्ने सम्भावना र त्यहाँको समुद्री सुरक्षाबारे पनि दुवै पक्षबीच कुराकानी भएको थियो।
'हामीले होर्मुज जलमार्ग पूर्ण रूपमा खुला रहनुपर्ने स्पष्ट सन्देश दिएका छौं। त्यस विषयमा राम्रो प्रगति भएको छ,' उनले भने।
वार्तामा सहभागी अर्का एक कूटनीतिज्ञले छलफललाई कठिन तर सकारात्मक भन्दै आगामी साताहरूमा हुने प्राविधिक वार्तालाई मार्गदर्शन गर्ने प्रारम्भिक खाका तयार भएको बताएका छन्।
छलफलमा अमेरिका–इरान समझदारीपत्र कार्यान्वयन, राजनीतिक नेतृत्व र प्राविधिक टोलीबीच वार्तालाई निरन्तरता दिने संरचना तथा विभिन्न पक्षबीच समन्वय सुनिश्चित गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।
अमेरिकी, इरानी, पाकिस्तानी र कतारी प्रतिनिधिहरू वार्ताको प्रगतिप्रति सन्तुष्ट देखिएको ती कूटनीतिज्ञको भनाइ छ।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समा पाकिस्तान र कतारका मध्यस्थकर्ताहरूले लेबनान युद्ध अन्त्यतर्फ महत्वपूर्ण प्रगति गराएको बताएका छन्। उनले इरानले तेल तथा पेट्रोकेमिकल निर्यातमा छुट प्राप्त गरेको र केही रोक्का सम्पत्ति फुकुवा भएको दाबी पनि गरेका छन्, यद्यपि अमेरिकी पक्षले त्यसको पुष्टि गरेको छैन।
स्विट्जरल्यान्ड वार्ता समाप्तिपछि जारी संयुक्त वक्तव्यमा कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले १८ घण्टाको वार्तामा “उत्साहजनक प्रगति” भएको बताएका छन्।
वक्तव्यअनुसार अमेरिका र इरानले वार्ताको राजनीतिक अनुगमनका लागि उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेका छन्। साथै आणविक मुद्दा, प्रतिबन्ध तथा विवाद समाधानका लागि छुट्टाछुट्टै कार्यसमूह बनाइनेछ।
दुवै पक्षले हर्मुज जलमार्गमा हुने सम्भावित घटना र गलतफहमी रोक्न प्रत्यक्ष ‘सञ्चार लाइन’ स्थापना गर्ने निर्णय पनि गरेका छन्। यो संयन्त्र वार्ता जारी रहुञ्जेल सञ्चालनमा रहनेछ र व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रयोग गरिने बताइएको छ।
त्यसैगरी लेबनानमा सैन्य गतिविधि अन्त्यसम्बन्धी सहमति कार्यान्वयन गराउन अमेरिका, इरान, लेबनान तथा मध्यस्थकर्ता मुलुकहरू सम्मिलित ‘डि–कन्फ्लिक्सन सेल’ गठन गर्ने सहमति पनि भएको छ।