राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
महाधिवेशनस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रवक्ता झाले पार्टीभित्र स्थापना कालदेखि नै भूमिका निर्वाह गरेकाले पदाधिकारीमा आफ्नो दाबी स्वाभाविक रहने बताएका हुन्।
उनले भने, ‘हामीले ९ गते नै सबै कार्यक्रम सक्ने लक्ष्य राखेका थियौँ, तर प्रतिनिधिको ठूलो सङ्ख्या र उम्मेदवारीमा धेरैको आकांक्षाका कारण १० गतेसम्म लम्बिन सक्ने कुरामा हामी मानसिक रूपमा तयार थियौँ। राजनीतिमा लागेपछि थप चुनौती लिन तयार हुनुपर्छ। पार्टीको आगामी दुई निर्वाचनको तयारी र देशले राखेको अपेक्षालाई सम्बोधन गर्न महामन्त्रीको जिम्मेवारी महत्त्वपूर्ण छ। मैले आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा यस पदका लागि आफूलाई योग्य पात्र ठानेको छु।’
पत्रकारहरूले पछिल्लो समय पार्टीभित्र र संसदमा पनि मनिष झा ओझेल पर्दै जानुको कारण पनि सोधेका थिए।
जबाफमा झाले आफू सिंहावलोकनमा रहेको बताएका थिए।
'कहिलेकाहीँ आफूलाई रोक्नुपर्छ। अस्वाभाविक गतिले अस्वाभाविक परिणाम पनि ल्याउन सक्छ। त्यो सधैं आफ्नो पक्षमा नहुन पनि सक्छ,' उनले भने।
संसदमा भर्खरै ७० वटा बैठक भएकाले अहिल्यै निष्कर्षमा पुग्न नमिल्ने बताए।
'जम्मा ७० वटा बैठक भएको छ। ६० महिनाको कार्यकालमा जम्मा तीन महिना भएको छ। ५ वर्षको राजनीतिक यात्रामा तीन महिनामै निष्कर्षमा पुग्न सक्छौं र? यो कुरा कतिको उपयुक्त हो?,' उनले भने।