राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा भइरहेको प्रथम महाधिवेशन बन्दसत्र हलभित्र पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको फोटो राखेको छ।
यसरी फोटो राखिएकामध्ये डा. मुकुल ढकाल अहिले रास्वपामा छैनन्।
उनी संस्थापक महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ता थिए।
रास्वपाले प्रथम महाधिवेशनमा आफूलाई निम्ता नगरेकोमा ढकालले असन्तुष्टि जनाएका थिए।
रास्वपालाई विगतमा गाली गर्नेहरूलाई स्वागत गरिएको तर पार्टीको स्थापना गर्ने व्यक्तिलाई निम्तो नगरिएको उनको गुनासो थियो।
त्यस्तै रास्वपा स्थापना हुँदाका उपसभापति डोलप्रसाद अर्याल अहिले सभामुख छन्। उनी पार्टीमै भए पनि महाधिवेशनमा सहभागी छैनन्।
रास्वपाका अन्य संस्थापकहरू भने पहिलो महाधिवेशनमा सहभागी छन्।
'पार्टी दर्ताका लागि ५०० वटा नागरिकता जुटाउन समेत संघर्ष गर्नुपरेको त्यो अवस्थाबाट छोटो समयमै पार्टी दुई तिहाइ जनमतसहित सरकारमा पुगेको छ', मुकुलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संघर्षका ती दिनहरू इतिहासमा लेखिए वा लेखिएनन्, त्यो मलाई थाहा छैन। भगवानले माथिबाट हेर्नुभयो कि हेर्नुभएन, त्यो पनि मैले बुझ्न सकेको छैन। तर ती दिनहरूलाई प्रत्यक्ष बाँचेका हामी प्रत्येकको मानसपटलमा त्यो इतिहास सधैं जीवन्त रहनेछ।'
मुकुलले इतिहासले लेखिए/नलेखिएको थाहा नभएको बताए पनि रास्वपाले उनको फोटो भने महाधिवेशन बन्द सत्र हलमा राखेको छ।