'हिजो मात्रै हामी एक्सप्रेस-वेमा कुदिरहेका छौं भनेको सुनिएको थियो, आजै यस्तो भद्रगोल छ।'
यो भनाइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशनमा सहभागी हुन चितवन आएका एक महाधिवेशन प्रतिनिधिको हो।
भरतपुरस्थित प्रदर्शन केन्द्रमा सोमबार बिहान ९ बजे सुरू गर्ने भनिएको बन्द सत्र पटक पटक सर्दै अहिलेसम्म टुंगो नभएकोमा दिक्दारी मानिरहेका ती महाधिवेशन प्रतिनिधिले आफ्नो गुनासो पोख्दै हामीसँग भने, 'यस्तो भद्रगोल त लोकल रोडमा पनि देखिन्न हौ, एक्सप्रेस-वेको कुरा के गर्नू?'
उनको यो 'एक्सप्रेस-वे' वाला भनाइ प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले आइतबार महाधिवेशन उद्घाटनमा दिएको भाषणसँग सम्बन्धित छ।
बालेनले आफ्नो सरकार 'एक्सप्रेस-वे' मा हिँडेकाले ब्रेक लगाउन नपर्ने र एकैचोटि गन्तव्यमा पुगेर मात्र रोकिने उद्घोष गरेका थिए।
वरिष्ठ नेताले यस्तो उद्घोष गरेको भोलिपल्टै 'लोकल रोड' मा हिँडेजस्तो महसुस भएपछि महाधिवेशनमा सहभागी हुन देशभरिबाट जम्मा भएका प्रतिनिधिहरूले मात्र होइन, हामीले कुरा गरेका पार्टीका केही उच्चस्तरीय नेता र सांसदहरूले समेत असन्तोष व्यक्त गरेका छन्।
उनीहरू सबैको गुनासो पूर्वघोषित बन्द सत्र कुनै कारण नखुलाई पटक पटक सारिएकोमा छ।
आज बिहान ९ बजे सुरू गर्ने भनी तालिका सार्वजनिक गरिएको बन्द सत्र सुरूमा डेढ घन्टा सारिएको थियो। त्यसपछि फेरि एक घन्टा थप गरियो। त्यसपछि बन्द सत्र कति बेला सुरू गर्ने भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन।
हामीले महाधिशेवन स्थलमा भेटेर कुराकानी गरेका नेता/कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूलाई पनि अबको कार्यक्रम कहिले सुरू हुन्छ भन्नेबारे यकिन जानकारी छैन।
कसैले साँझ ६ बजेपछि सुरू होला कि भनेर आकलन गरे भने कसैले आज स्थगित गरेर भोलिलाई सार्ने सम्भावना रहेको पनि बताए।
यसबीच बन्द सत्रको निम्ति तयार पारिएको हल खचाखच भरिएको छ भने बन्द सत्र बाहिरको परिसरमा पनि नेता/कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिन्छ। हलभित्र उपस्थित रहेकाहरू कोही आपसमा गफ गरिरहेका छन् भने कोही थकाइ र गर्मीले आलसतालस भएर भुइँमा पल्टिरहेका देखिन्छन्। कोही नाचगान गरेर फुर्सद काटिरहेका छन्।
तीमध्ये झन्डै एक दर्जन सहभागीसँग हामीले छुट्टाछुट्टै कुरा गर्दा उनीहरू कसैले पनि के कारण कार्यक्रममा रोकावट आयो भनेर प्रस्ट भन्न सकेनन्।
विगतमा 'पुरानो' पार्टीमा लागेर पछिल्लो चुनावअघि रास्वपा प्रवेश गरेका एक प्रतिनिधिले भने, 'यो त पुरानो पार्टीभन्दा पनि बेहाल अवस्था भयो!'
'पहिलो महाधिवेशन भएर होला नि?' हामीले सोध्यौं।
जबाफमा उनले भने, 'पहिलो भनेर भयो त! अरूले गर्न सकेन भन्नेले त सुरूदेखि नै राम्रो गर्नुपर्यो नि!'
अर्कातिर, पहिलो चरणमा हुने केन्द्रीय सदस्यको निर्वाचनका लागि उम्मेदवारी घोषणा गरिरहेकाहरू महाधिवेशन प्रतिनिधिलाई खोजी खोजी भोट मागिरहेका देखिन्छन्। यसरी भोट माग्नेलाई पनि को महाधिवेशन प्रतिनिधि हो, को होइन भन्ने नचिनेर समस्या भइरहेको केन्द्रीय सदस्यका एक उम्मेदवारले बताए।
सबभन्दा रोचक कुरा त, केन्द्रीय सदस्य उम्मेदवारी दिएर भोट मागिरहेकाहरूलाई पनि बन्द सत्र कहिले सुरू हुन्छ, चुनावी कार्यक्रम कसरी अघि बढ्छ भन्ने अत्तोपत्तो छैन।
'यहाँको माहोल भद्रगोल छ। के हुन्छ, के भइरहेको छ भन्ने नै थाहा छैन,' एक केन्द्रीय सदस्य उम्मेदवारले भने, 'हामी दुई जना शीर्ष नेताहरूबाट केही सन्देश आएर कार्यक्रम अघि बढ्ला कि भन्ने प्रतीक्षामा छौं।'
यसबीच प्रवक्ता मनीष झाले महाधिवेशन प्रतिनिधिहरूको संख्या धेरै भएको र केन्द्रीय सदस्यका आकांक्षी पनि बढेकाले महाधिवेशन कार्यक्रम एक दिन सर्न सक्ने बताएका छन्।
उनले पहिलो महाधिवेशन भएकाले तयारीका कतिपय काममा कमजोरी भएको उल्लेख गरे।
सुरूआतमा महाधिवेशन मिति तोक्दै गर्दा तीन हजार प्रतिनिधि होलान् भन्ठानेकोमा सोचेभन्दा धेरै भएको र प्रतिनिधि संख्या बराबरकै कार्यकर्ता पनि सहभागी भएकाले व्यवस्थापनमा समस्या देखिएको उनले बताए।
'कतिवटा कुरा यस्तो हुन्छ भनेर हामीले आकलन गरिसकेको थिएनौं,' उनले भने, 'कमजोरी भएको छ, त्यसलाई नकार्न सकिँदैन।'
उनले अगाडि भने, 'तापक्रमले गर्दा पनि मान्छेहरू छिटो थाक्ने हुँदो रहेछ। धन्न मान्छेहरू रिसाइसक्नुभएको छैन।'
बन्द सत्र नहुनुका कारण
हामीलाई महाधिवेशन स्थलमा भेटिएका विभिन्न नेताले बताएअनुसार निर्धारित समयभन्दा ७ घन्टा बितिसक्दा पनि बन्द सत्र सुरू नहुनुमा दुई-तीनवटा कारण देखिएका छन्।
सबभन्दा पहिलो त, अहिलेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली नै फाइनल भइसकेको छैन। कतिपय प्रतिनिधिहरू आफ्नो नाम छुटेको भन्दै सच्याउन आइरहेका छन्। उद्घाटन सत्रअगाडि नै सार्वजनिक गरिएको यो सूचीमा अहिले पनि संशोधन जारी छ। पार्टीको निर्वाचन आयोगलाई नामावली सच्याउँदैमा फुर्सद छैन।
सबभन्दा भद्रगोल मधेस प्रदेशको महाधिवेशन प्रतिनिधिमा छ। यसमा को को प्रतिनिधि रहने भन्ने यकिन नभएको एक नेताले बताए। मधेस प्रदेशका प्रतिनिधिविरूद्ध १०० भन्दा बढी उजुरी परेका छन्।
नाम छुट्नेमा केही सांसदहरू पनि परेका छन्। कोशीका एक जना निर्वाचित सांसद 'सूचीमा मेरै नाम छुटेको रहेछ' भन्दै महाधिवेशन स्थलबाट बाहिरिँदै थिए।
रास्वपामा १८२ जना सांसद छन्।
महधिवेशन आयोजक समितिमा नरहेका सांसदहरू स्वत: महाधिवेशन प्रतिनिधि रहने विधानको व्यवस्था छ। तर हामीले भेटेका मात्र होइन, अरू पनि कतिपय सांसदको नाम सूचीमा छैन। ती सांसदहरू अहिले सूचीमा नाम राख्न दाबी विरोध गरिरहेका छन्।
दोस्रो कारण, नाम टुंगो लागिसकेका महाधिवेशन प्रतिनिधिहरू पनि सबैलाई कार्ड वितरण गरिएको छैन। कार्डबिना बन्द सत्र हलभित्र छिर्न पाइँदैन।
यसबाहेक बिहान खाजाको बन्दोबस्तमा ढिलाइ हुनुले पनि बन्दसत्र प्रभावित बनेको थियो।
यस्ता व्यवस्थापकीय कारण मात्र होइन, बन्द सत्र ढिला हुनुमा अर्को एउटा कारण पनि छ- त्यो हो केन्द्रीय समिति र पदाधिकारीमा चुनाव हुने कि नहुने भन्ने अन्यौल।
चुनाव होला कि नहोला?
रास्वपामा पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि चुनाव हुन्छ। अहिलेसम्मको अवस्थामा सभापतिमा रवि लामिछाने नै दोहोरिने निश्चित देखिएको छ। सभापति पदमा उम्मेदवारी दिन ५१ जना समर्थक र एक जना प्रस्तावक र ५१ हजार शुल्क लाग्छ। यति धेरै समर्थक जुटाउन जोकोही नेतालाई मुश्किल पर्ने प्रतिनिधिहरू बताउँछन्।
त्यसपछि पदाधिकारी बन्न सबभन्दा पहिला केन्द्रीय समितिको निर्वाचन जित्नुपर्छ।
रास्वपामा ९९ केन्द्रीय सदस्य पदमा चुनाव हुनेछ भने बाँकी मनोनीत हो। केन्द्रीय समिति १५८ सदस्यीय हुन्छ, जसमा प्रदेश सभापतिहरू पदेन केन्द्रीय सदस्य हुन्छन्।
हामीले कुराकानी गरेका नेताहरूका अनुसार चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिमध्ये झन्डै हजार जना केन्द्रीय सदस्यका आकांक्षी छन्।
'जो भेट्यो त्यो नेता केन्द्रीय सदस्यमा उठेको छु भनेर भोट मागिरहेका छन्,' एक प्रतिनिधिले भने, 'पदाधिकारी हुन पनि केन्द्रीय सदस्य बन्नुपर्ने भएकोले धेरै नेताहरू केन्द्रीय सदस्य पदमा उम्मेदवार छन्।'
उनका अनुसार हजार जनाभन्दा बढी आकांक्षीलाई रोकेर सहमतिमा केन्द्रीय सदस्य छान्न अब गाह्रो छ। तर केन्द्रीय सदस्यमा चुनाव गर्दा माथि पदाधिकारीमा पनि गर्नुपर्ने दबाब पनि छ।
यस्तो अवस्थामा फागुन २१ को निर्वाचनअघि विभिन्न समूहबाट रास्वपामा समाहित भएकाहरूलाई पदाधिकारीमा समेटिन्छन् कि समेटिँदैनन् भन्ने प्रश्न छ।
निर्वाचनअघि सबभन्दा पहिला विवेकशील साझाको समूह रास्वपामा समाहित भएको थियो। त्यसपछि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको समूह समाहित भयो। लगत्तै खगेन्द्र सुनार नेतृत्वको हामी नेपाल पार्टीको समूह र थरूहट आन्दोलनका लक्ष्मण थारूको समूह समायोजन भयो।
यी चार समूहमध्ये पूर्व विवेकशील साझा समूहबाट समीक्षा बाँस्कोटाले उपसभापतिमा दाबेदारी गरेकी छन् भने रञ्जु दर्शना र पुकार बमले महामन्त्री वा सह-महामन्त्रीमा दाबेदारी गरिरहेका छन्।
त्यस्तै, बालेन शाहको समूहबाट भूपदेव शाहको महामन्त्रीमा र सुनील लम्सालको सह-महामन्त्रीमा दाबेदारी छ।
महामन्त्रीमै कबिन्द्र बुर्लाकोटी, बिपिन आचार्य र मनिष झाले पनि दाबेदारी गरिरहेका छन्। यी तीनै जना सभापति लामिछाने निकट हुन्।
यसमध्ये अहिले पार्टी प्रवक्ता रहेका झाले महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा नै गरिसकेका छन्। प्रवक्ता झाले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।
यसबाहेक अरू समूहबाट पनि दाबेदारी हुने देखिन्छ।
पदाधिकारीमा विभिन्न समूहबाट आएकाहरूलाई समेटेर लैजान यसपालि सहमति गरेर जाने कोसिस भइरहेको एक नेताले जानकारी दिए। केन्द्रीय सदस्यमा भने करिब एक हजार जना आकांक्षी देखिएकाले सहमतिमा जान गाह्रो पर्ने उनको भनाइ छ।
यति हुँदाहुँदै सभापति लामिछाने र वरिष्ठ नेता शाहले आपसमा कुरा गरेर निष्कर्ष निकाल्न सक्ने उनी बताउँछन्।
महाधिवेशन स्थलमा उपस्थित नेता/कार्यकर्ताहरू सभापति र वरिष्ठ नेताबाट त्यस्तै केही घोषणा आउन सक्ने आसमा छन्।
'शीर्ष तहबाटै ठोस कुरा आएपछि बल्ल तल्लो तहमा देखिएको भद्रगोल साम्य होला!' हामीले महाधिवेशन स्थलमा भेटेका एक प्रतिनिधिले भने।
तस्बिरहरू हेर्नुहोस्-
-ink-1782120014.jpeg)
-ink-1782120014.jpeg)
-ink-1782120014.jpeg)
-ink-1782120014.jpeg)
-ink-1782120014.jpeg)
-ink-1782120014.jpeg)
-ink-1782120013.jpeg)
-ink-1782120013.jpeg)
-ink-1782120013.jpeg)
-ink-1782120013.jpeg)
-ink-1782120013.jpeg)
-ink-1782120013.jpeg)