सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन एक दिन लम्बिएको छ।
आज सोमबार हुने भनिएको बन्दसत्र र निर्वाचन कार्यतालिका अनुसारको कार्यक्रम स्थगित भएपछि महाधिवेशन कम्तिमा एक दिन लम्बिएको हो। यसअघि असार ७ देखि ९ सम्म हुने भनिएको थियो।
पार्टी प्रवक्ता मनीष झाले महाधिवेशन एक दिन लम्बिएर असार १० गते बुधबारसम्म चल्ने जानकारी दिए।
महाधिवेशन लम्बिनुको मुख्य कारण प्रतिनिधिहरूको नामावली फाइनल नहुनु हो, जसले सोमबार निर्धारित समयमा निर्वाचन कार्यक्रम र बन्द सत्र सुरू हुन सकेन।
हामीले सोमबार दिनभरि नै महाधिवेशन प्रतिनिधिहरू आफ्नो नाम छुटेको भन्दै सच्याउन आइरहेको भेटेका थियौं। उद्घाटन सत्रअगाडि नै सार्वजनिक गरिएको यो सूचीमा अहिले पनि संशोधन जारी छ।
सबभन्दा भद्रगोल मधेस प्रदेशको महाधिवेशन प्रतिनिधिमा रह्यो। यसमा को को प्रतिनिधि रहने भन्ने यकिन नभएको एक नेताले बताए। मधेस प्रदेशका प्रतिनिधिविरूद्ध १०० भन्दा बढी उजुरी परेका छन्।
नाम छुट्नेमा केही सांसदहरू पनि परेका छन्। कोशी प्रदेशका एक जना निर्वाचित सांसदले भने, 'सूचीमा मेरै नाम छुटेको रहेछ।'
रास्वपामा १८२ जना सांसद छन्। महधिवेशन आयोजक समितिमा नरहेका सांसदहरू स्वत: महाधिवेशन प्रतिनिधि रहने विधानको व्यवस्था छ। तर हामीले भेटेका मात्र होइन, अरू पनि कतिपय सांसदको नाम सूचीमा छैन। ती सांसदहरू अहिले सूचीमा नाम राख्न दाबी विरोध गरिरहेका छन्।
त्यस्तै, नाम टुंगो लागिसकेका महाधिवेशन प्रतिनिधिहरू पनि सबैलाई कार्ड वितरण गरिएको छैन। कार्डबिना बन्द सत्र हलभित्र छिर्न पाइँदैन।
पार्टीको निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार अहिले तीन हजारवटा महाधिवेशन प्रतिनिधि कार्ड छापिएको छ। सोमबार राति ७ बजेबाट ती कार्ड बाँड्न सुरू गरिनेछ।
पछिल्लो अपडेट अनुसार ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिएको थियो।
साबिकको निर्वाचन कार्यतालिका अनुसार सोमबार १ बजेदेखि पहिलो चरणको निर्वाचन (पार्टी सभापति र केन्द्रीय सदस्य) का लागि उम्मेदवारी मनोनयन गर्न निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण गर्ने कार्यक्रम थियो।
त्यस्तै, दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने र साँझ ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने भनिएको थियो।
आजको कार्यक्रम स्थगित भएसँगै मंगलबार बिहान ८:३० देखि दिउँसो ३ बजेसम्मका लागि तय गरिएको पहिलो चरणको मतदान पनि स्वत: स्थगित भएको छ।
मंगलबार बिहान नयाँ निर्वाचन कार्यतालिका निकालिने केसीले बताएका छन्।