नेपाली कांग्रेसका सभापति गगन थापाले १४ औं महाधिवेशनको सिंगो केन्द्रीय समिति अहिलेको समितिमा मिसाउन नसकिने स्पष्ट पारेका छन्।
पार्टीको संस्थापन इतर पक्षका नेताहरूले पार्टीको १४ औं महाधिवेशन र विशेष महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय समितिमा सहभागी गराउनुपर्ने माग गर्दै आएका छन्।
सोमबार सानेपास्थित पार्टी कार्यालयमा सभापति थापासँग भेट गर्न पुगेका कांग्रेसका महानगर सभापतिहरूसँगको भेटमा थापाले भनेका थिए, 'पार्टीलाई एकताबद्ध तुल्याउन नेताहरूले भनेका सबै कुरा मान्न हामी तयार छौं। तर १४ औं महाधिवेशनका सबैलाई केन्द्रीय समितिमा मर्ज गर्ने कुरा सम्भव छैन।'
सभापति थापालाई भेट्न भरतपुर महानगरबाहेक सबै महानगर सभापतिहरू सानेपा पुगेका थिए।
'सभापतिज्यूलाई भेटेर हामीले पार्टी एकता अक्षुण्ण राख्नुपर्ने र त्यसका लागि सहमतिमा जोड दिनुपर्ने आग्रह गर्यौं,' विराटनगर महानगर सभापति दीपक चापागाईंले भने, 'जबाफमा उहाँले पुरानो कार्यसमिति सिंगै मर्ज गर्नेबाहेक सबै कुरा मान्न हामी तयार छौं भन्नुभयो।'
शेखर कोइराला निकट विराटनगर सभापति चापागाईंले सभापति थापा पार्टी एकताबद्ध तुल्याउन लचक र प्रतिबद्ध पाएको सुनाए।
'सभापतिज्यू लचक र प्रतिबद्ध पायौं,' उनले भने, 'अब हामी मंगलबार बिहान पूर्णबहादुर खड्कालाई भेटेर लडाइँ झगडा बन्द गर्नुस् भन्ने आग्रह गर्दैछौं। त्यसपछि हामी शेखर कोइरालालाई पनि भेट्दैछौं।'