राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार स्थगित बन्द सत्र आज मंगलबार २ बजेबाट सुरू हुने भएको छ।
पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा हुने बन्द सत्रको घोषित कार्यतालिका अनुसार विभिन्न आयोग र पदाधिकारीले प्रतिवेदन प्रस्तुत गर्ने छन्।
यस अन्तर्गत दिउँसो २:१० बजे अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्ने छन् भने २:३० बजे कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने छिन्।
दिउँसो ३:०० बजे पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेपछि ती प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच विस्तृत छलफल गराइने छ।
अपराह्न ३:४५ बजे पार्टीका सहमहामन्त्री विपिन आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन् र त्यसलाई बन्द सत्रबाट अनुमोदन गराइनेछ।
विधान संशोधनपछि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा हेरिएको महत्त्वपूर्ण अर्थ-राजनीतिक प्रस्तावना उपसभापति डा. स्वर्णिम वाग्लेले बेलुकी ४:४५ बजे प्रस्तुत गर्ने कार्यक्रम छ।
त्यस लगत्तै ५:१५ बजे पार्टी सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ।
आजको बन्द सत्रको अन्तिम चरणमा बेलुकी ६:३५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने छन् र आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ।
आयोजक समितिले जिम्मेवारी सुम्पिएसँगै निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका सार्वजनिक गर्नेछ, जसअनुसार नेतृत्व चयनको बाँकी प्रक्रिया अगाडि बढ्नेछ।
यसअघि महाधिवेशन प्रतिनिधिहरूको नाम फाइनल हुन र कार्ड वितरणमा पनि ढिलाइ भएपछि सोमबार हुने भनिएको बन्द सत्र र निर्वाचन कार्यक्रम स्थगित भएको थियो।
पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म महाधिवेशन प्रतिनिधि संख्या ४३ सय नाघेको छ। उनीहरूलाई अस्थायी परिचय पत्र दिन बाँड्न सुरू गरिएको छ।
पार्टीको संगठन विभाग प्रमुख बोधनारायण श्रेष्ठका अनुसार पहिले छापेको परिचय पत्रमा भएको क्युआर कोडमा समस्या देखिएपछि अस्थायी परिचयपत्र बाँड्न लागिएको हो। यसमा क्यूआर कोड हुने छैन।
२ बजे सुरू हुने बन्द सत्रका लागि यो प्रबन्ध गरिएको श्रेष्ठले जानकारी दिए।
'निर्वाचनका लागि क्युआर कोडसहितको नयाँ परिचय पत्र वितरण गरिने छ,' उनले भने।
यसबीच महाधिवेशन प्रतिनिधिहरूको नामावली अन्तिम रूजुको काम चलिरहेको छ। अझै पनि केही नाम तलमाथि परेको भन्दै दाबीविरोधको फारम बोकेर आउने क्रम जारी छ। छुटेका नामबारे संगठन विभागमा उजुरी दिन भनिएको छ।
कतिपय प्रतिनिधिको नाम सोमबार सूचीमा भए पनि अहिले छुटेको छैन। त्यस्तै, कतिपयको सदस्यता नम्बर एउटै परेको छ।
यस्ता त्रुटिहरू सच्याउने क्रम चलिरहेको श्रेष्ठले बताए।