शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
उनको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्। पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक बसेका छन् ।
उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए।
'रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु,' मन्त्री पोखरेलले भने।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका पोखरेल रास्वपा तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद छन्।