नेपाली कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेसँगको सहकार्य पुनः अगाडि बढ्ने बताएका छन्।
विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् र सडक दुवै मोर्चामा एमालेसँग मिलेर अघि बढ्ने बताए।
‘अहिलेको परिस्थितिमा संसद्मा बलियो उपस्थिति जनाउन र सडक आन्दोलनलाई सशक्त बनाउन पनि एमालेसँगको सहकार्य अनिवार्य भइसकेको छ,' उनले भने।
तत्कालै पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यको वातावरण भने बनिसकेको र यो कुरा छलफलबाट निष्कर्षमा पुगेको उनको भनाइ छ।
आफ्नो राजनीतिक यात्रामा 'क्रमभङ्ग' गरिरहने स्वभावलाई स्मरण गर्दै दाहालले आगामी महाधिवेशनबाट फेरि नयाँ क्रमभङ्ग हुने उद्घोष गरेका थिए।
उनले यसलाई आफ्नो जीवनको 'अन्तिम क्रमभङ्ग' भन्दै यसका लागि कार्यकर्ताहरूलाई तयार रहन आग्रह गरेका थिए।
उनले जतिसुकै मतभेद भए पनि कम्युनिष्ट पार्टी र आफ्नै घर बलियो बनाउनुको विकल्प नभएको बताए।
सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आलोचना गरेका थिए।
रास्वपा सरकारमा सहभागी भएको सय दिन पनि नपुग्दै उसको वास्तविक चरित्र उदाङ्गिएको उनको भनाइ छ।
‘सिमानामा सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार असुल्ने र गरिब सुकुम्बासीका बस्तीहरू भत्काएर रास्वपाले आफ्नो असली पहिचान देखाएको छ। उनीहरू आफ्नै गलत हर्कतका कारण जनताको नजरमा गिर्दै गएका छन्, यसमा हाम्रो कुनै दोष छैन,’ उनले भने।
वर्तमान सरकार 'नवउदारवादी र फासिस्ट शैली'मा अगाडि बढेको आरोप लगाउँदै उनले रास्वपालाई गरिब, सुकुम्बासी, जनजाति र उत्पीडित समुदायको विरोधीको रूपमा चित्रण गरे।
रास्वपाले प्रदेश संरचना र संविधान नै खारेज गर्ने खेल खेलिरहेको दाहालको दाबी थियो। यो निरङ्कुशता र फाँसीवादका विरूद्ध लड्नका लागि साँचो अर्थमा कम्युनिष्ट बन्नु पर्ने बेला आएको उनले बताए।
‘अब हामी जाग्ने कि नजाग्ने? साँच्चैको कम्युनिष्ट बन्ने कि नबन्ने?,’ कार्यकर्तालाई प्रश्न गर्दै उनले भने, ‘कम्युनिष्ट बन्ने दृढ सङ्कल्प नलिएसम्म यो निरङ्कुश व्यवस्था र फाँसीवाद विरूद्धको लडाइँ जित्न सकिँदैन।’