प्रतिपक्षी दल नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले पाकिस्तान र बंगलादेश मोडलको लोकतन्त्र अभ्यास गर्न खोजेको आरोप लगाएकी छन्।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद झांक्रीले विपक्षी पार्टीका नेताहरूलाई पक्राउ गरेर त्यो अभ्यास गर्न खोजेको बताएकी हुन्।
'आफूसँग प्रतिस्पर्धी दलका नेताहरूलाई चुप लगाउन बंगलादेश पाकिस्तान मोडलको लोकतन्त्रको अभ्यास गर्नका लागि टार्गेट गरिएको छ। मान्छेहरूलाई समात्ने र चुप लगाउने, व्यवसायीलाई समात्ने र चुप लगाउने, नागरिक समाजलाई समात्ने चुप लगाउने काम गरिरहेको छ,' उनले भनिन्, 'यो केन्द्रको प्रहार अहिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वगृहमन्त्री र अहिले पूर्वअर्थमन्त्रीलाई समातिएको छ।'
झाँक्रीले एक जना मान्छेको बयानकै आधारमा समात्नुभन्दा थप अनुसन्धान गर्नुपर्ने बताइन्।
'बयानको आधारमा खुलेर अनुसन्धान गर्ने हो। अनुसन्धानका लागि जहिल्यै उपलब्ध हुने मान्छेका हकमा यो गर्न पर्छ कि पर्दैन। यो आवाज बन्द गर्ने प्रयास हो,' उनले भनिन्।
सुशासनको चर्को नारा दिने सरकारले आफ्नै पार्टीको नेतामाथि लागेको अभियोगमा भने मुद्दा फिर्ता लिएको उनको भनाइ छ।
'आफ्नै पार्टीको नेता जसलाई फौजदारी अभियोग लागेको छ उसले निर्दोष छ भने अदालतबाट फेयर ट्रायल गरेर निर्दोषिताको प्रमाण पत्र ल्याउन चाहेन। सरकारले लुतुलुतु मुद्दा फिर्ता लिएको छ। यही हो सुशासन हो?,' उनले भनिन्।