गण्डकीमा मिलिजुली सरकार चलाइरहेको नेपाली कांग्रेस र नेकपा एमालेले भागबण्डाका आधारमा गण्डकी प्रज्ञा प्रतिष्ठानमा नियुक्ति दिएका छन्।
प्रतिष्ठानको कुलपतिमा नेपाली कांग्रेसका तर्फबाट प्रा.डा. कुसुमकुमार न्यौपाने नियुक्त भएका छन् भने एमालेका तर्फबाट उपकुलपतिमा शंकर विरही गुरूङ र सदस्य सचिव मनकुमार श्रेष्ठ नियुक्त भएका छन्।
गण्डकी प्रज्ञा प्रतिष्ठानका संरक्षक समेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार कुलपति, उपकुलपति, सदस्य सचिव र प्राज्ञ सदस्य नियुक्त गरेका हुन्। यसअघि एमाले नेतृत्वको सरकारले प्रतिष्ठान स्थापना गरेर सूर्य खड्का ‘बिखर्ची’लाई कुलपति नियुक्त गरेको थियो। बिखर्चीले स्थापना गरेको जनभावना पार्टी एमालेसँग एकीकरण गरेपछि उनी प्रतिष्ठानको कुलपति बनेका थिए।
बिखर्ची नेतृत्वको प्रतिष्ठानको ४ बर्षको कार्यकाल सकिएको करिब १३ महिनापछि प्रतिष्ठानमा नयाँ पदाधिकारी र प्राज्ञ सदस्य नियुक्त भएका हुन्।
कांग्रेस र एमालेको भागबण्डा अनुसार प्रतिष्ठानमा नियुक्त भएका पदाधिकारी र प्राज्ञ सदस्य गरी २४ जना मध्ये १३ जना कांग्रेसबाट र ११ जना एमालेबाट नियुक्त भएका छन्।
प्रतिष्ठानमा नियुक्तीका लागि शौक्षिक योग्यतासहित मापदण्ड तोकेर प्रदेश सरकारले दरखास्त आह्वान गरेको थियो।
सामाजिक विकास मन्त्री रेखा गुरूङको संयोजकत्वमा रहेको सिफारिस समितिले दिएको सिफारिसका आधारमा प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी र प्राज्ञ सदस्य मनोनयन गरेको मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ।
प्रतिष्ठानका पदाधिकारी र सदस्यको कार्यकाल ४ वर्ष छ।