नेकपा एमालेकी संसदीय दल उपनेता पद्मा अर्यालले वहालवाला मन्त्री र सांसदहरूलाई सम्पत्ति छानबिन दायराभन्दा बाहिर राखिएको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी आफैमा वासिङ मेसिन हो भन्ने प्रश्न गरेकी छन्।
आजको प्रतिनिधि सभा बैठकमा समय लिएर सरकारका १०० दिनका कामकारबाहीमा केन्द्रित रहेर धारणा राख्दै अर्यालले यसबाट 'सुशासनको तमासा र आयोग गठनको नियत प्रष्ट देखिएको' बताइन्।
‘रास्वपा आफैमा वासिङ मेसिन हो? त्यहाँ पसेपछि सफा भइहाल्ने, यो कुरालाई हेक्का राख्नुस्,’ उनले भनिन्, ‘यसले भोलि कुनै समस्या आउन सक्छ। जान्नेलाई छान्ने नीति लिएको भनिएको सरकारले अन्तत: जान्नेलाई फाल्ने, आफ्नालाई छान्ने नीतिलाई व्यवहारत पुष्टि गरेको छ। खुला प्रतिस्पर्धा र मेरिटोक्रेसी आधारमा गैरराजनीतिक व्यक्तिलाई नियुक्ति दिने भन्दै करिब १६ सय राजनीतिक नियुक्त खारेज गरेको सरकार आज आफ्नै पार्टीको चुनाव चिह्नबाट चुनाव हारेकालाई भटाभट नियुक्ति गर्दैछ।’
आफ्नो समर्थकलाई एक नम्बर थप्ने कुरालाई सुशासनको कुन मोडल भन्ने उनको प्रश्न पनि थियो।
उनले वितेका १०० दिनबाट सरकारले राम्रो पाठ सिक्नुपर्ने पनि बताइन्।
‘राजनीतिक प्रतिशोध, अपादर्शी समूहको निर्देशनमा सरकार सञ्चालन, विधि उल्लंघन, संसदप्रति गैरजबाफदेहिता आजै बन्द गर्नुस्,’ उनले भनिन्, ‘आगामी दिनहरू यी १०० दिनजस्ता त्रास र निराशाजनक नबनुन् यही सरकारलाई शुभेच्छा छ।’