प्रधानन्यायाधीश मनोज कुमार शर्माले इनम सापकोटा भन्ने व्यक्तिसँग आफूलाई जोडेर लेखिएका समाचारमा सत्यता नभएको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै शर्माले भनेका छन्, 'आज दियो पोष्ट भन्ने सञ्चारमाध्यममा मेरो नाम समेत जोडी 'प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा 'घुस' : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण!' लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति म आश्चर्यचकित र स्तब्ध भएको छु।
उनले जुन प्रसंग जोडेर आफ्नो नाम उल्लेख गरिएको छ, ती व्यक्ति तथा प्रसंगमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्।
'ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्क समेत छैन। मैले कहिल्यै भेटेको पनि छैन। उक्त प्रसंगमा उल्लिखित मिति November, December, January मा म प्रधानन्यायाधीश पनि भइनसकेको अवस्था छ। यसरी आधारहीन, झूटा, कपोलकल्पित र जनतामा भ्रम हुने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु,' विज्ञप्तिमा भनिएको छ।
बिचौलिया भनेर प्रहरीले पक्राउ गरेर थुनामा रहेका इनम सापकोटाको मोबाइलमा नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा गरी १ लाख ७४ हजार रूपैयाँको कारोबार विवरण भेटिएको र त्यही विवरणको मुनिपट्टि मनोजकुमार शर्मा (चिफ जस्टिस), विश्व पोखरेल ओखलढुंगा र वंशी दाहाल भनेर लेखिएको भन्दै दियो पोष्टले समाचार छापेको थियो।
त्यही समाचारमा उल्लिखित विवरण र व्यक्तिबारे आफ्नो संलग्नता नरहेको प्रधानन्यायाधीश शर्माले बताएका हुन्।