श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्क साम्पाङले सामाजिक सञ्जालमा गाली गरेकै कारण पक्राउ गरी थुनामा पठाउन नहुने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै साम्पाङले सामाजिक सञ्जालमा सनिनसक्नु र देखिनसक्नु गाली गलौजको सिलसिला देखिएको र प्रधानमन्त्री र मन्त्रीलाई गाली गर्दा पक्राउ परेका सम्मको विषय सुनाएका हुन्।
प्रधानमन्त्रीज्यूलाई एक जना व्यक्तिले गाली गर्नुभएछ। उहाँलाई पक्राउ गरी कति दिन हिरासतमा राखेछ छाडिएको रहेछ। अहिले फेरि पुनः पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइयो भन्ने सुनिएको छ। एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ। जेनजी हुन्, युवा हुन् सच्चिने मौका दिनुपर्छ। अभिव्यक्ति दियो भन्दैमा कठोर जेल चलान गर्नुपर्छ सजाय दिनुपर्छ भन्नेतर्फ सरकार नलाग्दा राम्रो हुन्छ,' उनले भने।
प्रधानमन्त्री र मन्त्रीहरूलाई गाली गर्दा पक्राउ गर्ने भए सांसदलाई गाली गर्नेलाई के गर्छ भनेर साम्पाङले सरकारलाई सोधेका छन्।
'मलाई दुई जनाले ज्यानै मार्ने घर नै जलाइदिने भन्नेसम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परेजस्तो लाग्दैन,' उनले भने।
सरकारले आफ्नो समर्थकलाई छुट दिएको हो भने त्यो गम्भीर अराजकता हुने उनले बताए।
'कि आफ्ना समर्थकले चाहिँ जे भन्दा पनि हुन्छ भन्ने छुट हो भने फेरि त्यो अराजकताले अझै धेरै अर्को मोड लिन सक्छ। त्यसकारण सरकार पक्ष र प्रतिपक्ष यस विषयमा सचेत हुन पर्छ,' उनले भने।