सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष राजवंशीले रोपाइँको बेला मल आपूर्ति नभएको प्रसंग उल्लेख गर्दै 'सरकारले भात खान्छ कि के खान्छ' भनेर प्रश्न गरेका छन्।
'सम्माननीय सभामुख महोदय, म भात खान्छु। सरकारले के खान्छ? मलाई लाग्छ सरकारले पनि भात खान्छ,' बुधबार प्रतिनिधिसभा बैठकमा सांसद राजवंशीले भने, 'मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ, सरकारलाई त्यो कुरा थाहा छ कि छैन?'
उनले अगाडि भने, 'त्यो भात धानबाट आउँछ। त्यो धान किसानको खेतमा फल्छ र त्यसका लागि मल चाहिन्छ।'
उनले कृषिप्रधान देशमा किसानको कहिलेसम्म बिचल्ली भन्दै प्रश्न गरे र भने, 'खाद्य सुरक्षासँग जोडिएको यो गम्भीर विषयमा सरकार गम्भीर छ, अझ गम्भीर हुन आवश्यक छ।'
उनले अन्नको भण्डार भनेर चिनिने पूर्वको झापा, मोरङ र सुनसरीमा अहिले जम्मा २८ प्रतिशत मात्र रोपाइँ भएको र अझै ७२ प्रतिशत रोपाइँ बाँकी रहेको उल्लेख गरे।
'कृषि मन्त्रालयको विशेष सूचना अनुसार दुई सातापछि मल आउँदैछ रे। त्यो आओस् भन्न म चाहन्छु र त्यो किसानको खेतबारीमा पुगोस्, वितरण प्रक्रिया सहज होस्। सरकारलाई विशेष शुभेच्छा, शुभकामना,' उनले भने।