प्रतिनिधि सभाबाट नियमावली पारित गर्ने क्रममा जेठ १७ गते भएको घम्साघम्सीबारे जाँचबुझ गर्न गठित समितिले दिएको प्रतिवेदन अध्ययनपछि सभामुख डोलप्रसाद अर्यालले कार्यान्वयन अघि बढाएका छन्।
समितिले जेठ २५ गते सभामुखलाई प्रतिवेदन पेस गरेको थियो।
‘सभामुखबाट उक्त प्रतिवेदन अध्ययनपश्चात आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्राप्त भएको बेहोरा जानकारी गराइन्छ,’ संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सभामुख अर्यालले चैत १८ गते प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेका थिए।
समितिले जाँचबुझ सम्पन्न गरी सभामुखलाई प्रतिवेदन बुझाएको थियो। समितिका प्रमुख अधिकारीले जाँचबुझका क्रममा 'सिग्निफिकेन्ट' क्षति पुगेको नदेखिएको बताएका थिए।
'हामीले जाँचबुझ गर्दा कुनै सदस्यबाट क्षतिपूर्ति भराउनुपर्ने देखेनौं,' अधिकारीले भने, 'तर बैठकमा भएको अमर्यादित गतिविधि उल्लेख गरेका छौं।'
जाँचबुझ समितिले उक्त दिनको बैठकको सम्पूर्ण भिडिओ हेरेर 'भिजुअल एनालाइसिस' गरेको छ। उक्त दिन डेस्कमाथि चढेका सांसदको नाम भने किटान साथ उल्लेख गरेको छ। नेकपा एमालेकी रिंगला यादव र रास्वपाका अशोक चौधरीको गतिविधिलाई प्रतिवेदनमा समेटिएको छ।
जाँचबुझ समितिले सांसदहरूसँग उक्त दिनको घटनाबारे कुनै सोधपुछ गरेको थिएन।
