राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सबै दल मिलेर राष्ट्र जोगाउन र जनताको निराशा हटाउन राष्ट्रिय मुद्दा तय गर्नुपर्ने बताएका छन्।
आज संसदमा बोल्दै उनले देश संकटमा भएकाले सबै मिलेर यसको सामना गरे मात्र यसबाट पार पाउने बताएका हुन्।
‘आज देशमाथि संकट छ, आज जनतामाथि संकट छ। व्यवसायी, नागरिक युवादेखि विद्यार्थीसम्म निराशा छ। यसलाई नबढाऊँ, यसको समाधान खोजौँ। म सभामुखज्यूलाई भन्न चाहन्छु- यो संसदभित्र रहेका सबै दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ। हामी सबै दल मिले मात्र यो राष्ट्र रहन सक्छ, यहाँको नैरश्यता हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ,’ उनले भने।
उनले केही दिनअघि आत्मदाह गरेका सर्लाही ४ का युवा विवेक मण्डलको मृत्यु भएको भन्दै श्रद्धान्जली र परिवारप्रति समवेदना दिँदै संसदमा आफ्नो मन्तव्य सुरू गरेका थिए।
दुई हप्तामै तीन जना युवा आत्मदाह गरेको भन्दै उनले सबैलाई श्रद्धाञ्जली दिए। त्यसबाहेक विवेक मण्डलको केसमा प्रधानमन्त्री बालेन्द्र शाह र उनको सचिवालय, रास्वपा सभापति रवि लामिछाने, र स्वास्थ्यमन्त्री निशा मेहताले चासो दिएको र सहयोग गरेको भन्दै धन्यवाद पनि दिए।
त्यपछि उनले अनुभवि सांसदको नाताले राष्ट्रको संकट सामना गर्न सबै पार्टी एकजुट हुनुपर्ने बताएका थिए।
‘आज मलाई केही कुराले झस्काएको छ। अनुभवी सांसदको नाताले म केही भन्न चाहन्छु, त्यसले पनि केही माने राख्छ। आज हाम्रो राज्य संकटमा छ। जनतामा नैराश्यता छ। यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्न भन्ने भाष्य निर्माण यो संसदबाट कम्तिमा नगरौँ। सबै राजनीतिक दललाई मेरो प्रार्थना छ कि, हामी यसलाई घोचपेचको विषय नबनाऊँ। राज्य रह्यो भने, लोकतन्त्र रह्यो भने र जनता रह्यो भने फेरि हामी राजनीति गरौँला कोही सत्तापक्षबाट लडौँला कोही प्रतिपक्षबाट। सत्ता र प्रतिपक्ष स्थायी होइन। तर जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँको नरहौँला,’ उनले भने, ‘आज देशमाथि संकट छ आज जनतामाथि संकट छ। व्यवसायी, नागरिक युवा देखि विद्यार्थीसम्म निराशा छ। यसलाई नबढाउँ यसको समाधान खोजौँ। म सभामुखज्यूलाई भन्न चाहन्छु, यो संसद भित्र रहेका सबै दललाई एकजुट पारौँ राष्ट्रिय मुद्दा तय गरौँ। हामी सबै दल मिलेमात्र यो राष्ट्र रहन सक्छ, यहाँको नैरश्यता हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ।’