सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया हाउसअघि र नेताका घरअघिका सडकमा निजी सवारी साधन पार्किङ गरी अवरोध पुर्याउनेहरूमाथि कारबाही हुने बताएका छन्।
उनले यस्तो कार्यलाई अस्वाभाविक प्रवृत्तिसमेत भनेका छन्।
सोमबार कान्तिपुर, अनलाइनखबरलगायत मिडियाका कार्यालयअघि र कांग्रेस सभापति गगन थापाको घर जाने बाटोमा निजी नम्बर प्लेटका सवारी साधन पार्किङ गरिएको भेटिएको थियो। प्रहरीले ती गाडीहरू हटाएको थियो। केहीलाई जरिवाना लगाएर छाडिसकिएको छ।
यसबारे आज पत्रकारहरूले सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेसँग प्रश्न गरेका थिए।
जबाफमा सभापति लामिछानेले यस घटनाबारे पार्टीले विज्ञप्ति निकालिसकेको बताए। साथै यस कार्यमा रास्वपा नेता तथा कार्यकर्ताहरू संलग्न रहेको पाइए कारबाही हुने उनको भनाइ छ। यस घटनाबारे छानबिन र कारबाही हुनुपर्ने उनको भनाइ छ।
यस घटनामा रास्वपाकै नेता तथा कार्यकर्ता परे भने कारबाही हुन्छ कि हुँदैन भनेर पत्रकार केशवराज जोशीले सभापति लामिछानेलाई प्रश्न गरेका थिए।
जबाफमा सभापति लामिछानेले भने, ‘किन हुँदैन? त्यस्तो पनि प्रश्न हो र? रास्वपाका नेता, कार्यकर्ता, रास्वपा त्यो पार्टी हो उसले ७२ घन्टाभित्र सांसदलाई कारबाही गरेको थियो। जो भए पनि कारबाही हुन्छ।’