मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह घटनापछि उत्पन्न सुरक्षा 'थ्रेट' का कारण सडकबाट 'ब्याक' भएका नगर प्रहरीहरू अब बिस्तारै नियमित ड्युटीमा फर्किँदै छन्।
त्रिपुरेश्वरको राहदानी विभाग अगाडि गणेशले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेको घटनाको दोष सरकारले नै महानगरका नगर प्रहरीमाथि थुपारेपछि उनीहरूले ड्युटीमा खटिन असुरक्षित महसुस गरेका थिए।
त्यसयता काठमाडौं महानगरपालिकाका सडकमा हरियो वर्दीधारी नगर प्रहरीहरूको उपस्थिति शून्यप्राय: थियो। नगर प्रहरीको अनुपस्थितिमा आइतबार न्यूरोड क्षेत्रमा सवारी साधन जथाभाबी पार्किङ गरिँदा आवागमन प्रभावित भएको थियो।
मंगलबारसम्म पनि पातलो देखिएका नगर प्रहरीहरू बुधबारबाट भने नियमित ड्युटीमा खटिने तयारीमा छन्।
नगर प्रहरी प्रमुख विष्णु जोशीले यसबीच वडा कार्यालयहरूको ड्युटी जारी राखे पनि मानिसहरूको सेन्टिमेन्ट भड्किएका बेला संयम अपनाउन उपयुक्त ठानेर केही दिन सडकबाट पछाडि हटेको स्वीकार गरे।
'हामी शुक्रबारदेखि सडकमा अलि कम हिँडिरहेको साँचो हो, मान्छेको सेन्टिमेन्ट भड्किएका बेला हामीले संयम अपनाउनु नै सही ठान्यौं,' जोशीले मंगलबार सेतोपाटीसँग भने, 'भोलि (बुधबार) बाट भने महानगर प्रहरी फेरि सक्रिय रूपमा खटिन्छ। त्यसका लागि जिल्ला सुरक्षा समिति र ट्राफिक प्रहरी कार्यालयसँग सुरक्षाको विषयमा छलफल भइरहेको छ।'
घटनापछि उत्पन्न परिस्थितिका कारण नगर प्रहरीहरू सडकमा निस्किँदा थप तनाव हुन सक्ने र प्रहरीमाथि भौतिक आक्रमणको समेत खतरा देखेपछि पछाडि हटेको उनले उल्लेख गरे।
'केही दिनदेखि हाम्रो ड्युटीको शैली बदलिएको थियो। हामी गाडीमा मोबाइल गस्ती गरिरहेका थियौं,' उनले भने, 'त्यो अहिले पनि जारी छ। सँगसँगै, आज मंगलबारबाट भने सडकमा पनि ड्युटी सुरू गरेका छौं।'
यस क्रममा धरहरा क्षेत्रको सुरक्षाबाट नगर प्रहरी सडक ड्युटीमा फर्किएको थियो। यस बाहेक अन्य ठाउँमा पनि हरियो वर्दीधारी नगर प्रहरीहरू देखिएका थिए।
नगर प्रहरी प्रमुख जोशीले त्रिपुरेश्वर घटनामा आफूहरूलाई मात्र दोषी देखाएर एक्लो बनाउन खोजिएको गुनासो पनि गरे।
'हामीलाई एक्लो बनाइयो, सबै दोष हामीमाथि नै थुपारियो,' उनले भने।
हामीले कुरा गरेका नगर प्रहरीहरूले गणेश नेपालीसँग विवाद भइरहँदा एक जनपद प्रहरी हवल्दारले 'महिला प्रहरीसँग तुच्छ बोल्ने' भन्दै गणेशलाई झापड हानेको पनि सुनाए।
'तर त्यो घटना कहीँ कतै उच्चारण गरिएन,' ती नगर प्रहरीले भने।
गृहमन्त्री सुधन गुरूङले संसदमा दिएको भाषणबाट समेत नगर प्रहरीहरू असन्तुष्ट छन्।
उनले गणेशको मोटरसाइकलमा 'ह्विल लक' लगाउने संघीय सरकार मातहतको ट्राफिक प्रहरी नभई काठमाडौं महानगरको नगर प्रहरी भएको बताएका थिए र स्थानीय सरकारमाथि नै राजनीतिक दोषारोपण गरेका थिए।
त्यसपछि पीडित परिवारसँग सरकारले गरेको ९ बुँदे सम्झौतामा पनि महानगरलाई नै पूर्ण जिम्मेवार ठहर्याउन खोजिएको उनीहरू बताउँछन्।
त्यस दिन त्रिपुरेश्वरमा खटिएका नगर प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन नआएसम्म निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले लेखेर पठाउने भनेर सम्झौतामा भनिएको छ। यसबाहेक क्षतिपूर्ति, श्रीमतीलाई रोजगारी, छोरीलाई शिक्षादेखि राहत र काजकिरिया खर्चसमेत महानगरलाई नै बेहोर्न लगाइएको छ।
सरकारले जानाजान आफ्नो जिम्मेवारी पन्छाएको र स्वयं गृहमन्त्रीले संसदको रोस्ट्रममा उभिएर दोष थोपरेपछि मनोबल स्वाभाविक रूपले घटेको नगर प्रहरीहरू बताउँछन्।
त्यही भएर बुधबार काठमाडौं महानगरपालिकाले नगर प्रहरीहरूको विशेष भेला आयोजना गर्दैछ, जसमा उनीहरूलाई पछिल्लो घटनाक्रमले उत्पन्न परिस्थिति र अब अपनाउनुपर्ने सुरक्षा सचेतनाबारे ब्रिफिङ गरिनेछ। त्यसपछि उनीहरू फेरि सडकमा पैदल हिँड्दै आफ्नो नियमित ड्युटीमा फर्किने जोशी बताउँछन्।
आगामी दिनमा नगर प्रहरीको सुरक्षालाई लिएर ट्राफिक प्रहरी र प्रधानमन्त्री कार्यालयमा पत्र समेत पठाइएको उनले जानकारी दिए। त्यसको जबाफ आउन भने बाँकी छ।
यो घटनाले स्थानीय सरकार र संघीय सरकारबीच सुरक्षा र सडक व्यवस्थापनमा रहने समन्वय अभावलाई फेरि एक पटक सतहमा पनि ल्याइदिएको छ। सडक व्यवस्थापन नितान्त स्थानीय तहको मात्र सरोकारको विषय नभए पनि अहिलेको सुरक्षा चुनौती सामना गर्न महानगरले गृह प्रशासनबाट पर्याप्त सहयोग नपाएको गुनासो महानगर प्रहरी बलको छ।
सुरक्षा थ्रेटबीच सडकमा निस्कन लागेका नगर प्रहरीहरूको मनोबल बढाउन गृह प्रशासनले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उनीहरू बताउँछन्।