अर्थसमिति सदस्य सांसद विदुषी राणाले पुँजी बजारलाई केवल सेयर किनबेच गर्ने माध्यमका रूपमा मात्र नहेरी मुलुकको समग्र आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएकी छन्।
अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्डको नयाँ नेतृत्वसँगको छलफलका क्रममा उनले लगानीकर्ताको विश्वास पुनर्स्थापना गर्दै बजारलाई वास्तविक अर्थतन्त्रसँग जोड्नुपर्ने बताएकी हुन्।
पुँजी बजारको सफलतालाई केवल बजार सूचकका आधारमा मात्र नभई यसले उत्पादन, रोजगारी र लगानी वृद्धिमा पुर्याएको योगदानका आधारमा मापन गरिनुपर्ने उनले बताइन्।
७८ लाखभन्दा बढी मेरो सेयर प्रयोगकर्ता र ठूलो संख्यामा डिम्याट खाता रहे पनि बजारको गहिराइ अझै सीमित रहेकाले संस्थागत र दीर्घकालीन लगानी बढाउन बोर्डले ठोस रणनीति लिनुपर्ने सुझाव छ।
त्यसैगरी, वर्षौंदेखि चर्चामा रहेका नयाँ वित्तीय उपकरणहरूलाई कार्यान्वयनमा ल्याउन र विदेशी संस्थागत लगानीकर्ता आकर्षित गर्न बजारको पारदर्शिता र पूर्वाधारमा सुधार गर्नुपर्ने माग गरिएको छ।
बजारको आधुनिक निगरानीका लागि प्रविधिको प्रयोग बढाउँदै पुँजी बजारलाई देशको उत्पादनशील क्षेत्रमा पुँजी प्रवाह गर्ने प्रमुख माध्यम बनाउनुपर्ने निष्कर्ष निकालिएको छ।
राणाले राखेका ६ विषय
पुँजी बजारमा पारदर्शिता बढाएर लगानीकर्ताको विश्वास पुनर्स्थापना गर्नुपर्ने र यसलाई वास्तविक अर्थतन्त्रसँग जोड्नुपर्ने।
लगानीकर्ताको आधार ठूलो भए पनि बजारको गहिराई र तरलता बढाउन दीर्घकालीन तथा संस्थागत लगानीका लागि ठोस रणनीतिको आवश्यकता।
संस्थागत ऋणपत्र, साना तथा मझौला उद्यम एक्सचेन्ज, घरजग्गा लगानी ट्रस्ट र भेन्चर क्यापिटल जस्ता नयाँ उपकरणहरू सञ्चालनमा ल्याउन स्पष्ट कार्ययोजना र समयसीमा चाहिने।
बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७० प्रतिशतभन्दा बढी पुगेकाले यसले उद्योग, पूर्वाधार र ऊर्जा जस्ता उत्पादनशील क्षेत्रमा गरेको पुँजी प्रवाहको मापन हुनुपर्ने।
विदेशी संस्थागत लगानीकर्ता आकर्षित गर्न बजारको पूर्वाधार र पारदर्शितामा सुधार गरी आगामी दुई वर्षभित्र ठोस नतिजा निकाल्नुपर्ने।
बजारको आधुनिक निगरानीका लागि कृत्रिम बौद्धिकता, रियल टाइम मोनिटरिङ र साइबर सुरक्षा प्रणालीलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने।
पुँजी बजारलाई उत्पादन, रोजगारी र लगानी वृद्धिको माध्यम बनाएर देशको समग्र आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने।