प्रतिपक्ष दल श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्री बालेन शाहबाटै नियम उल्लंघन भएको बताएकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद संग्रौलाले मंगलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री साह र सत्तारुढ र दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नियमावलीको बर्खिलाप हुनेगरी सभाभित्र आवतजावत गरेको बताएकी हुन्।
प्रतिनिधि सभा नियमावलीको नियम २० मा कुनैपनि सदस्यले बोलिरहेको समयमा सभामुख र ती सदस्यको बीचबाट हिँड्न नपाइने स्पष्ट व्यवस्था छ।
'प्रधानमन्त्रीले नै नियम तोडेपछि आम नागरिकबाट नियम पालनको आश गरेर हुन्छ?,' उनले भनिन्।
उनले प्रधानमन्त्रीले विगतमा सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति पनि आलोचना गरिन्। गत जेठ १७ गते सदनमा व्यक्त गरिएको सो अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको दाबी गर्दै उनले सो कुरा नसच्याइएकोमा असन्तुष्टि व्यक्त गरिन्।
उनले नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराइन्। दलित समुदायका गणेश नेपालीले आत्मदाह गर्नुपरेको दुःखद् घटनाको चर्चा गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्।
सरकारले आफूलाई ‘एक्सप्रेस वे’ मा हिँडेको दाबी गरे पनि त्यसको नकारात्मक असर र दुर्घटनाको मारमा सर्वसाधारण परिरहेको उनको भनाइ थियो।