राष्ट्रिय सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहलाई नेपाली हिटलरको संज्ञा दिएका छन्।
बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ठाकुरले प्रधानमन्त्री बालेनलाई 'नेपाली हिटलर' को संज्ञा दिएका हुन्।
'नेपाली हिटलर भइसकेको छ। उसले जे बोल्छ, त्यही ठीक। जो गर्छ, त्यही कानुन हो,' उनले भने।
सरकारले दिएको आश्वासनहरूमध्ये अहिलेसम्म एउटा पनि पूरा नगरेको बताए।
'ट्रेड युनियनलाई खारेज गरियो। त्यसको ठाउँमा चाहिँ अर्को व्यवस्था छैन। प्रत्यर्क संस्था जो अर्गनाइज्ड छ त्यसलाई हेर्नै चाहँदैन, अर्गनाइजेशनलाई आक्रमण गरेर खत्तम गरेर के गर्न खोजेको हो, आफ्नो संगठन बनाउने हो कि,' उनले भने।
व्यवसायीहरू पलायन हुनेदेखि दलका नेताहरू समेत असुरक्षित महसुस गरिरहेको उनले बताए।
'यसले नेपालको आर्थिक अवस्थालाई थप कमजोर बनाउँदै लगेको छ। सरकारको भरमा मात्र शिक्षा र स्वास्थ्य चल्न सक्दैन । नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ,' उनले भने।