नेपाली कांग्रेस कोशीले प्रदेश सरकारबाट तत्काल मन्त्रीहरू फिर्ता नबोलाउने भएको छ।
कांग्रेस कोशी प्रदेश कार्यदलको बिहीबार विराटनगर बसेको बैठकले तत्काल मन्त्री फिर्ता नबोलाउने, कानुनी परामर्श र केन्द्रसँग समन्वय गरेर थप कदम चाल्ने निर्णय गरेको हो।
प्रमुख सचेतक गोपाल तामाङले दिएको जानकारीअनुसार थप निर्णयका लागि संसदीय दलका नेता उद्वव थापालाई अधिकार दिइएको छ।
अन्यत्रको सरकार जस्तो १६८ (२) को नभएर कोशीमा १६८ (५) को भएकोले थप कानुनी परामर्श गर्ने कांग्रेसले जनाएको छ। यो उपधारा अनुसार बहुमत जुटाउने प्रदेश सभा सदस्य मुख्यमन्त्री बन्ने प्रावधान छ।
सोहीअनुसार कांग्रेस समर्थनमा एमालेका हिक्मत कार्की अहिले मुख्यमन्त्री छन्।
कांग्रेसले प्रदेश सरकारमा नेकपा एमालेसँग यसअघि गरेका गठबन्धनलाई निरन्तरता नदिने तयारी गरेको छ।
सोअनुसार कर्णालीलगायत प्रदेश सरकारबाट कांग्रेस मन्त्रीहरू बाहिरिएका पनि छन्।
कांग्रेसले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने, नेतृत्व छाड्ने अवस्थामा नेकपासँग गठबन्धन गर्ने तयारी गरेको छ।
अहिले कांग्रेस नेतृत्वमा सुदूरपश्चिम, गण्डकी, बागमती र मधेस प्रदेश सरकार छ।