सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सुनुवाइ गर्दै अर्को आदेश नहुँदासम्मका लागि पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। लिखित आदेश भने आइसकेको छैन। सर्वोच्चले वेबसाइटमा आदेशबारे उल्लेख भने गरिसकेको छ।
साहमाथि कृष्ण नगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको सामूहिक आक्रमणमा संलग्न रहेको आरोप थियो।
सांसद साह र कृष्ण नगर नगरपालिकाका प्रमुख रजत प्रताप साह सहित १५/२० जनाको समूहले आफ्नो घरमै आएर आफूमाथि कुटपिट गरेको भन्दै शर्माले प्रहरीमा उजुरी दिएका थिए।
शर्माको उजुरीपछि प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले साह विरूद्ध मुद्दा दर्ता भएर अदालतबाट पक्राउ पुर्जी जारी भएको बताएका थिए।
उक्त पुर्जी जारी भएपछि सांसद साह सर्वोच्च पुगेका हुन्।
साह कपिलवस्तु क्षेत्र नंं ३ बाट नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।