नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकै दिनमा सत्ता उल्ट्याउन गरी लाग्न वामपन्थी शक्तिहरूलाई आग्रह गरेका छन्।
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले प्रतिक्रान्ति अझै पूरा नभइसकेकाले त्यसलाई परास्त गर्न एकै दिनमा सत्ता उल्ट्याउने गरी लाग्नुपर्ने बताएका हुन्।
त्यसो गर्न सम्भव छ भन्ने कुरा अहिले सत्तामा रहेकाहरूले सिकाइसकेको प्रचण्डको भनाइ छ।
'सदनमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने। हामी हाम्रै तरिकाले लड्ने हो तर एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ भनेर त उनीहरूले नै सिकाएका छन्,' संयोजक प्रचण्डले भने।
उनले त्यसका लागि सबै वामपन्थीहरूले साझा न्यूनतम कार्यक्रम बनाउने र हरेक पार्टीले आफ्नो क्षमताअनुसार राजधानी काठमाडौं र जिल्ला सदरमुकामहरूमा कार्यकर्ता ओराल्नुपर्ने बताए।
'हरेक पार्टीले आफ्नो क्षमताअनुसार ५/७ लाख मान्छे काठमाडौंमा र हरेक सदरमुकाममा एक/डेढ लाख उतारेर गर्यौं भने एकै दिनमा उल्ट्याउन सकिँदैन त?,' उनले भने।
'यताबाट किन नसोच्ने? सबैले सोच्नुपर्यो, नत्र बर्बाद हुन सक्छ। किनभने प्रतिक्रान्तिको प्रक्रिया पूरा भएको छैन। उनीहरू पनि पूरा गर्ने तयारीमा छन्,' उनले अगाडि भने।
तर सरकार गिराउने र बनाउने खेलमा फेरि लागियो भने अर्को प्रतिक्रान्तिमा उठ्नै नसक्ने गरी थेचारिने उनले बताए।
'त्यसकारण समय छ। यो नै समय हो। हामीले राम्रोसँग एकताबद्ध गर्ने। ठुल्ठूला गफ छाडिदिऔं। अब एक्सनमा जाऔं त्यो सम्भव छ। सम्भव बनाउनै पर्नेछ,' उनले भने।
संयोजक प्रचण्डले अहिले नै पार्टी एउटै हुने सम्भावना भने नरहेको बताए।
'त्यता लागेर टाउको नदुखाऔं। पार्टी एक बनाउँछौं भन्यो फेरि झगडा सुरू भइहाल्छ। तर सहकार्य र कार्यगत एकता तत्काल आवश्यक छ। अहिले नै आजै, भोलि। त्यसमा ढिलो गर्नुपर्ने कारण छैन। इमानदार सहकार्य भयो भने पार्टी एउटै पनि त्यहीँबाट बन्छ,' उनले भने।