राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
आइतबार राति यहाँ प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना घाइते छन्। प्रहरी र प्रदर्शनकारीहरू दुवैतर्फ घाइते रहेका छन्।
राप्रपा प्रवक्ता श्रेष्ठले 'सामान्य विवाद नियन्त्रणमा लिने नाममा प्रहरीको गोली प्रहारबाट २४ वर्षीय ओमप्रकाश मेहताको निधन भएको घटना दु:खद, चिन्ताजनक र दुर्भाग्यपूर्ण रहेको’ उल्लेख गरेका छन्।
‘कप्तानगञ्ज घटनामा प्रहरीको अत्यधिक बल प्रयोग र अन्धाधुन्ध गोली प्रहारबाट घाइते भएका दुई दर्जन बढी नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आज लेखेका छन्, ‘यस घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कडा कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत एवं न्याय सुनिश्चित गर्न, घाइतेको जुनसुकै अस्पतालमा लगेर उपचार गर्न, साम्प्रदायिकताको निहॅँमा परिस्थितिलाई पटक-पटक उत्तेजित र हिंसात्मक तुल्याउनेहरूको पहिचान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु।’
उनले सामाजिक सद्भाव र एकता कायम राख्न अपिलसमेत गरेका छन्।