नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरी घटनामा सरकार आत्मआलोचना गरेर स्थिति सम्हाल्न लाग्नुपर्ने बताएका छन्।
एक सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश जारी गर्दै शर्माले भनेका छन्, ‘कसैको जीवन नगुम्ने अवस्था बनाउनलाई परिपक्क हस्तक्षेप पुगेन। सरकारले त्यसमा गहिरो आत्मसाथ गरेर, आत्मआलोचना गरेर स्थिति सम्हाल्न लाग्नुपर्छ।’
सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा गए राति भएको घटनामा एक जनाको मृत्यु र ९ जना घाइते छन्।
सुनसरीको स्थिति सम्हाल्ने जिम्मेवारी सरकारको मात्र नभई अरू राजनीतिक दल र दलबाहिर रहेका संघसंस्थाको पनि साझा दायित्व भएको उपसभापति शर्माको भनाइ छ।
‘समाजमा सद्भाव र एकता राख्न जरूरी छ, यो घटना जे भयो प्रशासनलाई सहयोग गरेर नागरिक पङ्तिले संयम राखेर, यसलाई टुंग्याउन जरूरी छ,’ उपसभापति शर्माले भने।
उनले घटनाबारे गहिरो छानबिन गर्नुपर्ने पनि बताएका छन्।