नेपाली कांग्रेसले ४० जना युवाहरूलाई विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण दिने भएको छ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन १५ देखि १७ गतेसम्म प्रशिक्षण हुनेछ।
प्रतिष्ठानको साउन १० र ११ मा बसेको बैठकले प्राकृतिक विपद व्यवस्थापनसम्बन्धी आन्तरिक विशेष प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको थियो।
सो निर्णयअनुसार साउन १५, १६ र १७ गते हुने प्रशिक्षणमा इच्छुकहरू मध्येबाट चुनिएका ४० युवा मात्रै पहिलो चरणमा सहभागी हुने कांग्रेसले जनाएको छ।
प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सीप र तत्सम्बन्धी अभ्यास गराइनेछ। प्राकृतिक विपदको क्षेत्रमा लामो समयदेखि स्वदेश र विदेशमा कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्ने कांग्रेसले जनाएको छ।
प्रशिक्षणमार्फत विपदमा सचेतनादेखि प्रतिकार्यसम्मका लागि कार्य गर्न सक्ने दक्ष युवाशक्ति निर्माण हुने विश्वास कांग्रेसले लिएको छ।
आगामी दिनमा ‘हरेक जिल्लामा विपद व्यवस्थापन स्वयंसेवक’ को अवधारणा बमोजिम अघि बढ्ने योजना नीति प्रतिष्ठानले बनाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालको भनाइ छ।