नेपाली कम्युनिस्ट पार्टीले सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सरकारलाई आग्रह गरेको छ।
प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति निकालेर भनेका छन्, ‘हाम्रो पार्टी परिस्थिति थप जटिल बन्न नदिन, शान्ति–सुरक्षा सुदृढ बनाउन, जनविश्वास कायम गर्न तथा वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान गरी सामाजिक सद्भाव कायम गर्न सरकार तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछ।’
सुनसरी घटनाको सरकारले जिम्मेवारी लिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ। यहाँ १ जनाको मृत्यु र १२ जना घाइते भएका थिए।
बत्ती नभएको रातिको समयमा प्रहरीले गोली प्रहार गरेकोसमेत नेकपाको भनाइ छ।
यस्तो छ विज्ञप्ति-
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद् घटनाप्रति हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
दुई पक्षबीचको विवादले उग्र रूप लिएपछि त्यहाँ झडपको स्थिति उत्पन्न हुनु आफैमा दुःखद् हो।
उक्त विवादलाई राज्य पक्षबाट संयमित रूपमा समाधान गर्नुपर्नेमा बत्ती नभएको रातिको समयमा सुरक्षाकर्मीहरूले जथाभावी गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–४ निवासी ओमप्रकाश मेहताको मृत्यु भएको छ भने दर्जनभन्दा बढी व्यक्तिहरू गम्भीर घाइते भएका छन्।
हाम्रो पार्टी सरकारबाट मारिएका ओमप्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।
घटनास्थलको परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै सम्भावित क्षति रोक्न तथा सुरक्षा व्यवस्थापनका लागि प्रहरी प्रशासनले समन्वय, सतर्कता र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जथाभावी गोली चलाएर नागरिकको ज्यान लिनु गम्भीर सुरक्षा लापरबाही भएको हाम्रो ठहर छ।
त्यहाँ नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था नै थिएन। अझ घातक हतियार प्रयोग गरी नियम–कानुनविपरीत घुँडामाथि गोली हानी निहत्था नागरिकको हत्या गर्नु गम्भीर अपराध र राज्य आतंक हो।
सामाजिक सद्भाव कायम राख्नुपर्ने संवेदनशील घडीमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्नेमा यस घटनामा सरकारको सुरक्षा संयन्त्रबाट भएको ज्यादती स्पष्ट रूपमा देखिएको छ।
यतिबेला त्यहाँका सुरक्षा निकायहरू नेतृत्वविहीन रहनु सुरक्षा व्यवस्थाको अर्को गम्भीर कमजोरी हो।
सरकारी निकायको गैरजिम्मेवार रवैयाका कारण परिस्थिति थप भड्किएको र नागरिकको ज्यानसमेत गएको छ। यो घटना गम्भीर मानवअधिकार उल्लङ्घन मात्र नभई गैरन्यायिक हत्याको उदाहरण पनि हो।
हाम्रो पार्टी अन्धाधुन्ध गोली चलाएर नागरिकको हत्या गरिएको घटनाको घोर भर्त्सना गर्दछ। नियम–कानुनको उल्लङ्घन गर्दै जथाभावी गोली चलाएर नागरिकको ज्यान लिने तथा दर्जनौँ नागरिकलाई गम्भीर घाइते बनाउने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ।
कप्तानगञ्ज घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ।
हाम्रो पार्टी परिस्थिति थप जटिल बन्न नदिन, शान्ति–सुरक्षा सुदृढ बनाउन, जनविश्वास कायम गर्न तथा वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान गरी सामाजिक सद्भाव कायम गर्न सरकार तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछ।
यस संवेदनशील अवस्थामा सबै पक्षलाई थप संयमित हुन, कुनै पनि प्रकारको थप दुर्घटना र क्षति हुन नदिन तथा सामाजिक सद्भाव र एकता कायम राख्न स्थानीय जनसमुदायसँग हाम्रो पार्टी विनम्र अनुरोध गर्दछ।
साथै, समस्याको शान्तिपूर्ण समाधान र सामाजिक एकता सुदृढ बनाउन सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी तथा सम्बन्धित सबै पक्षसँग हार्दिक अपिल गर्दछ।
प्रकाश ज्वाला, प्रवक्ता
नेपाली कम्युनिष्ट पार्टी