संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेको सुनुवाइ भयो।
उनीमाथि सुनुवाइ समितिमा उजुरी नै परेको थिएन। उनी निर्वाचन आयोगमै काम गरेका पूर्वकर्मचारी हुन्।
उनले आफू आयुक्त भएपछि कुनै दलसँग नजिक र कुनै दलसँग टाढा हुने काम नगर्ने बताएका थिए। ‘म कुनै दलसँग नजिक र कुनैसँग टाढा हुने काम भने गर्दिनँ,’ उनले भने।
सांसदहरूले उनीमाथि विदेशबाट नेपालीहरूले मतदान गर्ने व्यवस्था र नेपालमै एक क्षेत्रबाट अर्को क्षेत्रमा मतदान गर्न मिल्ने व्यवस्था मिलाउन सकिन्छ कि सकिँदैन भन्नेमा केन्द्रित रहेर प्रश्न राखेका थिए।
उनले निर्वाचन व्यवस्थापनसम्बन्धी कानुन आउनुपर्नेमा जोड दिए। कानुन संशोधन मस्यौदा नेपाल सरकारलाई पठाइसकिएको उनको भनाइ थियो।
साथै उनले पञ्जीकरण विभाग र आयोगबीच अन्तरआबद्धता हुनुपर्नेमा जोड दिएका छन्। आयोगसँग अहिले रहेको प्रणाली र डेटा पुरानो रहेको भन्दै उनले कतिपय मृत्यु भइसकेकाहरूको नाम पनि रहेको बताएका थिए। ‘मृत्यु भएकाहरूको नाम हटाउन पनि पञ्जीकरण विभागसँग अन्तर आबद्धता हुनुपर्छ,’ उनले भने।
विदेशबाट नेपालीहरूले मतदान गर्ने विषयमा भने उनले 'यसबारे खाडी मुलुकहरूले अनुमति दिन्छन् कि दिँदैनन् भन्ने प्रश्न नै रहेको' बताएका थिए।