नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक आन्दोलनमा समर्पित निष्ठावान, अनुभवी र निडर नेता गुमाउनुपरेको उल्लेख गरेका छन्।
पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज दिउँसो निधन भएको थियो।
श्रेष्ठको निधनको खबरले स्तब्ध र मर्माहत बनाएको उनको भनाइ छ।
‘नेपाली कांग्रेसका वरिष्ठ नेता तथा हाम्रा आदरणीय अभिभावक गोपालमान श्रेष्ठ दाईको निधनको खबरले अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ,’ सभापति थापाको भनाइ छ, ‘नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैं प्रेरणादायी रहनेछ।’
पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित श्रेष्ठजस्तो निष्ठावान, अनुभवी र निडर नेता गुमाउनु नेपाली कांग्रेस र सिङ्गो देशकै लागि अपूरणीय क्षति भएको सभापति थापाको भनाइ छ।
‘स्याङ्जाबाट सुरू भएको उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्याउनुभएको योगदान अविस्मरणीय छ,’ उनले भनेका छन्, ‘गोपालमान दाईप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली! साथै यस कठिन घडीमा शोकसन्तप्त परिवारजन, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। तपाईंको निष्ठा र समर्पणको बाटोमा हामी निरन्तर हिँडिरहनेछौँ।’
श्रेष्ठ क्यान्सरबाट पीडित थिए।