नेकपा एमालेले सुनसरी देवानगन्जस्थित कप्तानगन्ज तनावमा सरकार ‘चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको’ आरोप लगाएको छ।
पार्टी महासचिव शंकर पोखरेलले मंगलबार प्रेस वक्तव्य जारी गर्दै सरकारले बल प्रयोग गरेर अवस्थालाई अझै उत्तेजित बनाइरहेको बताएका हुन्।
स्थानीय युवा आमेप्रकाश मेहताको ज्यान जाने गरी भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै महासचिव पोखरेलले नागरिकको जिउधनको सुरक्षा गर्ने र मुलुकमा शान्ति–सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार र स्थानीय प्रशासन संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिनु अत्यन्तै भर्त्सनायोग्य भएको बताएका छन्।
‘विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको छ,’ पोखरेलले भनेका छन्।
मृतक ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, पीडित परिवारलाई उचित राहत एवं क्षतिपूर्ति प्रदान गर्न तथा घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
राज्यलाई दमनकारी रवैया तत्काल रोकेर संयमताका साथ समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न आग्रह पनि पोखरेलले गरेका छन्।
‘मुलुकको राष्ट्रिय एकता, भाइचारा र सामाजिक सद्भाव नै हाम्रो मुख्य सामर्थ्य हो,’ वक्तव्यमा भनिएको छ, ‘अतः यस विषम र संवेदनशील घडीमा देवानगञ्ज र सिङ्गो सुनसरी क्षेत्रका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा कुनै पनि प्रकारको अफवाहमा नलागी वर्षौंदेखि कायम रहँदै आएको धार्मिक, सामाजिक र जातीय सद्भाव, आपसी एकता लाई अक्षुण्ण राख्न नेपाल कम्युनिष्ट पार्टी एमाले हार्दिक आह्वान गर्दछ।’