प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ।
आइतबार रातिदेखि साम्य हुन नसकेको सुनसरीको देवानगन्जमा उत्पन्न तनावलाई लिएर प्रधानमन्त्री बालेन शाहको सक्रियताको खोजी भइरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेको हो।
कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा 'नेपाल सरकार उक्त घटना क्रममा मृत्यु भएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै घाइते व्यक्ति र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्छ' भनिएको छ।
प्रधानमन्त्री कार्यालयले घटनामा घाइते हुनेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जानकारी दिएको छ।
त्यस्तै, घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस किसिमका घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपायहरू सहित सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको र उक्त समितिले काम सुरू गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ।
पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानुनी कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव हुँदैन भन्नेमा नेपाल सरकार पूर्णतः विश्वास गर्दछ।'
प्रधानमन्त्री कार्यालयले नेपाली समाजले सदियौंदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खलबल्याउने र धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुऱ्याउने गतिविधिमा संलग्न नहुन आह्वान गरेको छ।
त्यस्तै, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध पक्षहरूसँग अपिल पनि गरिएको छ।
'मुलुकमा शान्ति सुव्यवस्था र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण जनसमुदायमा नेपाल सरकार हार्दिक आह्वान गर्दछ,' विज्ञप्तिमा भनिएको छ।