सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएका छन्।
बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी सभापतिले सर्वदलीय बैठक आह्वान गरेको रास्वपा महामन्त्री बिपिन आचार्यले जानकारी दिए।
'अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपले फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरेका हौं,' महामन्त्री आचार्यले पठाएको संक्षिप्त प्रेसनोटमा भनिएको छ।
उनका अनुसार सबै दललाई पत्राचार गरिएको र सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर पनि आमन्त्रण गरेका छन्।
'छलफल विहान ८ बजे लेखा समितिको बैठक कक्षमा हुने छ। छलफलमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको छ,' आचार्यले भनेका छन्, 'सबै दललाई पत्राचार गरिएको छ। सभापतिज्यूले नेताहरूलाई आफै फोन गरेर पनि आमन्त्रण गर्नुभएको छ।'