नेपाली कांग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आफ्ना नेताकार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
निर्देशन अवज्ञा गरेको पाइए विधानअनुसार कारबाही गरिने चेतावनी कांग्रेसको छ।
‘नेपाली कांग्रेस, पार्टीका सबै समिति, नेता र सदस्यहरूलाई पीडित परिवारमा सहयोग पुर्याउन, घाइतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन आग्रह गर्दछ,’ प्रवक्ता देवराज चालीसेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘साथै सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संग्लन नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देश गर्दछ र निर्देशनको उलंघन गरेमा विधान बमोजिम कारबाही हुने स्मरण गराउँदछौं।’
यस्तो छ विज्ञप्ति-
सुनसरीको देवानगञ्ज, कप्तानगञ्जमा भएको दुःखद घटना र त्यसपछिका तनावपूर्ण परिस्थिति सबैका लागि गम्भीर चिन्ताको विषय हो। विशेष गरी पछिल्लो समयमा देखिएका सुरक्षासम्बन्धी विभिन्न घटना हेर्दा यो सरकार देश र नागरिकको सुरक्षा संवेदनशीलता र चुनौतिसँग पूर्णतः अनभिज्ञ रहेको प्रतित हुन्छ।
सामान्य विवादमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो र संवेदनशील परिस्थितिमा राज्य संयमित हुन किन सकेन? यी प्रश्नहरूको जवाफ सरकारले दिनु पर्दछ र घटनाको सम्पूर्ण जिम्मेवारी लिनु पर्दछ। नेपाली कांग्रेस यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानविन गरी सत्य–तथ्य सार्वजानिक गर्न तथा दोषिलाई कार्वाही गर्न पुनः माग गर्दछ।
यस घडीमा थप हिंसा र क्षति हुन नदिन धैर्य, संयम र संवादको बाटो अपनाउन सबैको कर्तव्य हो। धमिलो पानीमा माछा मारेर सामाजिक सद्भाव खलबल्याउने र साम्प्रदायिक हिंसा भड्काउने तत्वप्रति चनाखो रहन आवश्यक छ। अफ्वाह र उत्तेजनाले परिस्थिति थप जटिल बनाउन सक्छ। यस परिस्थितिमा सरकारले संवेदनशीलता गुमाए पनि समाजले संयम गुमाउनु हुँदैन। अतः अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण स्थानीयवासी, नागरिक समाज र राजनीतिक दलहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।
नेपाली कांग्रेस, पार्टीका सबै समिति, नेता र सदस्यहरूलाई पीडित परिवारमा सहयोग पुर्याउन, घाइतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन आग्रह गर्दछ। साथै, सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संग्लन नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देश गर्दछ र निर्देशनको उलंघन गरेमा विधान बमोजिम कारबाही हुने स्मरण गराउँदछौं।
देवराज चालीसे, प्रवक्ता