नेपाली कांग्रेसबाट उम्मेदवार भई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले साउन १६ मा गर्ने भनेको भेला सरेको छ।
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार निधन भएपछि जनप्रतिनिधिहरूको भेला मिति सारिएको हो।
अब साउन २७ गतेका लागि भेला आयोजना गर्ने तयारीमा जनप्रतिनिधिहरू छन्।
नेपाली कांग्रेस समर्थित जनप्रतिनिधिहरूले पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियान पनि सञ्चालन गर्दै आएका छन्। सोही अभियानले भेला गर्न लागेको हो।
पार्टी एकताका लागि हुने अनौपचारिक दबाब अभियान भने निरन्तर चलिरहनेछ उनीहरूले बताएका छन्। साथै आफ्नो ठाउँ र क्षेत्रबाट शीर्ष नेताहरूलाई दबाब अभियान चलाइरहन कांग्रेस समर्थित जनप्रतिनिधिहरूले अपिल गरेका छन्।
कांग्रेस समर्थित जनप्रतिनिधिहरूको पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियानको तर्फबाट भीमप्रसाद ढुंगाना, चिरिबाबु महर्जन, उपेन्द्र कार्की, प्रकाश भण्डारी, लक्ष्मण शाहीलगायतले यस्तो अपिल गरेका हुन्।