प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङ मौन बसेको आरोप लगाएको छ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक बासना थापाले सुनसरी घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकार अहिलेसम्म मौन बसेको बताएकी हुन्।
'आज कप्तानगन्जमा नेपाली युवाले ज्यान गुमाएका छन्। दर्जनौँ युवालाई गोली लागेर एउटा परिवारले आफ्नो छोरा गुमाएको छ। एउटा आमाले आफ्नो कोख रित्याएकी छिन्। एउटा बाबुले आफ्नो सहारा गुमाएको छ। तर यो घटना पछि सरकार मौन छ,' उनले भनिन्।
यस्तै घटनामा हिजो आक्रोश पोख्ने प्रधानमन्त्री र सदनमा आँसु बगाउने गृहमन्त्रीको मौनताले न्यायप्रतिको नागरिकको विश्वास र राज्यप्रतिको भरोसा कमजोर बनाएको प्रमुख सचेतक थापाले बताइन्।
थापाले प्रधानमन्त्री बालेनले काठमाडौं महानगरका मेयर हुँदा भदौ २३ को घटनाबारे लेखेको स्ट्याटस पनि स्मरण गराइन्।
प्रधानमन्त्रीमा त्यतिबेलाको भावना र आज पदमा हुँदाको व्यवहार बदलिएको आशंका पनि उनको थियो।
'एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन सुनिदैन? तपाईंले लगाएको कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक-फरक देखिन्छ र?,' उनले भनिन्।