सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिना मियाँले सुनसरी घटनालाई राजनीतिक लाभका लागि उपयोग नगर्न दलहरूलाई आग्रह गरेकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मियाले मिलेर बसिरहेका सिधासाधा जनतालाई लडाएर राजनीतिक रोटी सेक्ने काम भइरहेको आरोप लगाउँदै त्यस्तो काम बन्द गर्न आग्रह गरेकी हुन्।
'देशमा मिलेर बसेका धर्म र जातजातिहरूलाई आफ्नो राजनीतिक रोटी सेक्ने काम बन्द गर्नुस्। तपाईंहरूले सिधासाधा जनतालाई लडाएर आफ्नो राजनीतिक लाभ लिने जुन कदम चाल्नुभएको छ। त्यसमाथि घोर आपत्ति व्यक्त गर्न चाहन्छु,' उनले भनिन्।
उनले यस्ता घटनामा राज्यले अभिभावकत्व लिनुपर्छ भनेर स्वास्थ्यमन्त्री सुनसरी पुगेर स्थलगत अध्ययन गरेको बताइन्।
रास्वपा सभापतिले पनि सर्वदलीय बैठक बोलाएर यस्तो गतिविधि शान्त पार्नका लागि संवाद गरेको बताइन्।
'सम्पूर्ण राजनितिक दलहरूले प्रतिबद्धता जनाउनुभयो। आगामी दिनमा यस्तो घटना नदोहोरियोस्,' उनले भनिन्।