जिल्ला प्रशासन कार्यालय सिरहाले पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन्।
‘पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन जाने देखिएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतका आधारमा कर्फ्यू आदेश जारी गरिएको छ,’ उक्त आदेशमा भनिएको छ।
उक्त आदेश पूर्वपश्चिम राजमार्गको पूर्व तर्फ गोलबजार नगरपालिका-३ कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तर तर्फ सैनिक चोक, दक्षिणतर्फ रा.प्र. बहुमुखी क्याम्पस वरिपरिको क्षेत्रमा तोकिएको छ।
कर्फ्यूको बर्खिलाप हुने कुनै गतिविधि भए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ।
आइतबार साँझ सुनसरीको देवानगंजस्थित कप्तानगन्जमा दुई पक्षबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको थियो।
मृत्यु भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले छानबिन सुरू गरिसकेको छ। तर सुनसरीमा भएको घटनाले अन्यत्र जिल्लामा समेत तनाव उत्पन्न भएको छ।
त्यही तनावले गर्दा प्रशासन कार्यालयले सिरहामा पनि कर्फ्यू जारी गरेको हो।
