नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले कतिपय अभिव्यक्तिले असहज भए प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिने लोकतान्त्रिक परम्परा भएकोले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
जेठ १७ मा संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्री बालेन शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरूले यसको प्रमाण पेस गर्न यो रेकर्डबाट हटाउन माग गर्दै आइरहेका छन्।
त्यसतर्फ लक्ष्य गर्दै नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा बोल्दै भने, ‘प्रधानमन्त्रीको कतिपय अभिव्यक्तिले असहज बनाएको छ भने प्रधानमन्त्रीले सदनमा उभिएर स्पष्टीकरण दिनुपर्छ, यो लोकतान्त्रिक परम्परा हो, यसलाई भाँच्ने कोसिस र उल्टाउने कोसिस नगरियोस्।’
उनले प्रधानमन्त्रीले स्पष्टीकरण दिएर सानो हुने नभई बरू त्यसले कद माथि लैजाने पनि बताए।
‘तपाईं आएर संसदमा स्पष्टीकरण दिएर सानो हुने होइन, बरू कद माथि जान सक्छ। प्रतिपक्षसँग संवाद गरेर कद सानो हुने होइन बरू बढेरै जान्छ,’ उनले भने, ‘यसलाई बुढापाकाको कुरा राम्रा कुरा भनेर ठान्नुहुन्छ भने कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्ने उखान हजारौं वर्षको अनुभवले ल्याएको भन्ने ठान्नुस्।’
देशलाई सफल वा असफल के बनाउने प्रधानमन्त्री र रास्वपाको हातमा रहेको पनि उनले बताए।
‘देशलाई कता लैजाने तपाईंकै हातमा छ। रास्वपाको कामकारबाही कता जान्छ, असफल राष्ट्र बनाउने कि नबनाउने तपाईंको हातमा छ, जनताले हेरिरहेका छन्,’ उनले भने।
प्रधानमन्त्रीले प्रतिपक्षीहरूसँग पनि संवाद नगरेको उनको भनाइ थियो। सरकारका कतिपय कामबारबाहीले जनता झस्किन थालेको पनि उनले बताए।